arrow

‘जनतासँग नेपाली कांग्रेस’ अभियान लिएर शेखर समूह देशभर जाने, छलफलमा कसले के भने ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
shekhar-koirala panel-meeting-2022.jpg

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्ष डा. शेखर कोइराला समूह ‘जनतासँग नेपाली कांग्रेस’ अभियान लिएर देशभर जाने भएको छ । कांग्रेसको १४ औं महाधिवेशनपछि पहिलो पटक भएको डा. शेखर पक्षको टिमका विजयी तथा पराजित भएका उम्मेदवारबीचको छलफलका क्रममा नेताहरुले ‘जनतासँग नेपाली कांग्रेस’ अभियान लिएर जाने निर्णय गरेका हुन् । 

उक्त छलफलमा बोल्दै नेता कोइरालाले आफूहरु अग्निपरीक्षामा रहेको भन्दै ‘संगठन भित्रको जिम्मेवारी पाउनु भएका साथीहरुलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरुले मात्र आशा र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरुको गतिविधिलाई हेरिरहेका छन्’ भने । 

उनले अगाडि भने, ‘हाम्रा अगाडिका बाटाहरु सहज छैनन् । तीन तहको निर्वाचन हाम्रो सामु छ ।  कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरी साथीहरु सामु जानेछौँ र कांग्रेस एकताको सन्देश, कांग्रेस रुपान्तरणको सन्देश, नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौँ । हामी थाक्नेछैनौँ र विश्राम लिने छैनौँ । हामी कुनै पनि कार्यकर्ता साथीहरुको शिर झुक्न दिनेछैनौँ र निराश हुन दिनेछैनौँ । कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहनेछौँ । तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्ध छौँ ।’  

छलफलका क्रममा महामन्त्री गगन थापाले भने, ‘भागवण्डाको पक्षमा होइन न्यायको पक्षमा छौं हामी । कांग्रेस सरकारमा गठवन्धनमा रहन्छ तर स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेस एक्लै जान्छ। जनतासँग नेपाली कांग्रेस अभियान लिएर देशभर जान्छौं ।’

त्यस्तै उपसभापति धनराज गुरुङले भने, ‘कमजोरी सुधारेर जान्छौं । न्यायोचित व्यवस्थापनको पक्षमा छौं भागवण्डाको पक्षमा होइन । टीमका सबै एक ठाउँमा रहेर देशव्यापी रुपमा जान्छौं ।’

लक्ष्मण बस्नेतले ‘नेता मात्र घुम्ने होइन गाउँ गाउँका कार्यकर्तालाई जगाउनु पर्दछ’ भने । 

छलफलका क्रममा महाधिवेशनका बेला भएका सवल र दुर्वल पक्षको पनि समीक्षा गरिएको थियो । त्यस्तै पार्टी विधि र विधानमा चल्नुपर्नेमा समेत जोड दिइएको थियो ।  

छलफलमा गुरु घिमिरे, यज्ञ थापा, कुसुम थापा, बिजुला बर्मा, डा शुरेस चालिसे, हरि न्यौपाने, कमला थापा, भूपेन्द्रजंग शाही, रमेश धमला, रञ्जित कर्ण, सीता मिजार, मनोजमणी आचार्य, डा सुभास यादव, क्षितिज भण्डारी, इर्साद अन्सारी, लोकेश ढकाल, सुवास पोखरेल, प्रकाश पौडेल, मथुराप्रसाद घिमिरे, लोकेन्द्र भण्डारी, कमलबहादुर शाह, गोमा केसी, केदार कार्की, नरेन्द्र केरुङ लगायतले आफ्नो विचार राखेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ