arrow
ADVERTISEMENT

के व्यासमा बतास पसेको हो ?

logo
सानेबहादुर नेपाली,
प्रकाशित २०७८ पुष २६ सोमबार
byash-nagarpalika.JPG

तनहुँ । व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय चर्चामा आएपनि त्यसबारेमा कुनै निर्णय नभएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले यस विषयमा कुनै निर्णय नगरेको जानकारी दिए । 

नगरपालिकाले निजी साझेदारी अवधारणाअनुरुप विभिन्न किसिमका संस्था तथा व्यक्तिसँग लगानी, विकास र यसका सम्भावना चयन गर्ने गरी काम गर्ने सम्बन्धमा गतवर्ष नै निर्णय भएको तर यही कम्पनीलाई दिने भन्ने निर्णय नभएको उनले बताए । 

नगरपालिकाले छ महिनाभित्र प्रस्ताव पेश गर्न लगानीकर्तालाई आग्रह मात्रै गरेको हो । उनले भने, “मानुङकोटको पूर्वपट्टीको जग्गा व्यास हिल्सले खरिद गर्न पहल मात्रै गरेको हो ।” उक्त जग्गाको लागि लागि रु चार अर्ब प्रस्ताव पेश गरेको बताउँदै नगरपालिकाको तर्फबाट के कति दिने भन्नेबारे कुनै घोषणा र निर्णय नगरिएको उनले बताए । 

योजना आयोगका पूर्व उपाध्यक्ष, कम्पनी ऐनका विशेषज्ञ सहितको टोली खटाएर अहिले मानुङ क्षेत्रको अध्ययन गरिरहेको नगरपालिकाले जनाएको छ । ओइलेनी जग्गा नेपाल सरकारको स्वीकृतिबिना नगरपालिकाले मात्रै दिन नमिल्ने हुँदा अध्ययन गरेर नगरपालिकाको हित कसरी हुन्छ त्यसको बारेमा अध्ययन गर्ने कार्य भइरहेको नगरप्रमुख न्यौपानेले बताए । 

सम्बन्धित लगानीकर्तालाई प्रस्ताव पेश गर्न अनुरोध गरिएको छ । उक्त प्रस्ताव प्रस्तुत गर्ने अवसरमा पत्रकार, सरोकारवाला निकाय सबैलाई बोलाएर सार्वजनिक गराइने छ । उनले भने, “यस विषयमा नगरपालिकाको कुन कम्पनी या व्यक्तिलाई दिने भन्ने बारेमा कुनै निर्णय भएको छैन् ।” यदि कानुनले बाधा पुग्दैन भने मानुङको विकास परियोजनामा लगानीकर्ताका रुपमा व्यास हिल्सले उक्त स्थानको वातावरण अध्ययन गर्ने कार्य गरिरहेको हुँदा उक्त कम्पनीले लगानी गर्न सक्ने उनले बताए । 

३३ हजारलाई रोजगारी 
तनहुँमा सञ्चालित उद्योगमा करिब ३३ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् । जिल्लामा सञ्चालनमा रहेका दश हजार ४२१ उद्योगमा उक्त सङ्ख्यामा मानिसले रोजगारी पाएका हुन् । तनहुँमा सञ्चालनमा रहेका उद्योगमा रु नौ अर्ब २१ करोड लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रम्ुख नारायणप्रसाद ढकालले जानकारी दिए । 

प्रत्येक उद्योगमा करिब रु दश लाखका दरले लगानी भएको तथ्याङ्क रहेको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । तनहुँमा हालसम्म एघार हजार १६२ उद्योग दर्ता भएकामध्ये दश हजार ४२१ वटा उद्योग सञ्चालनमा छन् । चालू आवमा मात्रै एक हजार नौ उद्योग दर्ता भएका छन् ।

पछिल्लो समय महिलाको नाउँमा फार्म नामसारी गर्नेको सङ्ख्या ९० प्रतिशत रहेको सो कार्यालयले जनाएको छ । अहिले पनि दैनिक १५ देखि ३० जना फार्म दर्ताको लागि उक्त कार्यालयमा जाने गरेका  छन् । महिलाको नाउँमा फार्म हुँदा बंैकले उद्यमी कर्जा प्रवाह गर्न थालेपछि महिलाको नाउँमा फार्म दर्ता गर्नेको सङ्ख्या बढेको छ ।

 कृषिजन्य, पशुजन्य, फर्निचरलगायतका उद्योगको सङ्ख्या पनि बढिरहेका छन् । साना उद्योगको लागि घरेलु कार्यालयमा दर्ता गरिए पनि रु १५ करोड देखि रु ५० करोडसम्मका उद्योग विभागमै दर्ता हुने प्रावधान छ । 

घरेलु कार्यालयले अनलाइन दर्ता प्रक्रियालाईसमेत अघि बढाएको छ । तथ्याङ्क सुरक्षित राख्न डिजिटलाइजेसन गरिएको छ । उनले भने, “शुरुमा काम गर्न समय लाग्ने र झन्झटिलो जस्तो देखिएपनि पछि खोजेको समयमा सहज, छिटो र काम गर्न सजिलो हुनेछ ।”

पर्यटकीय गाउँ बनाउन युवा कस्सिए  
जिल्लाको म्याग्दे गाउँपालिका–१ स्थित दभुङलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न यहाँका युवा लागेका छन् । पर्यटकीय सम्भावना रहेको चण्डीदेवी मन्दिर, पान्धारे बाराही मन्दिरलगायतका क्षेत्रको गुरुयोजना बनाएर विकास  गर्न युवा अघि बढेका हुन् । सदरमुकाम दमौलीबाट छोटो दूरीमा रहेर पनि बत्तीमुनिको अँध्यारो बनेको भन्दै युवा जागरुक बनेको चण्डीदेवी अक्षयकोष समितिका सचिव सन्तकुमार श्रेष्ठले बताए । 

पान्धारे बाराही मन्दिरदेखि चण्डी मन्दिरसम्म पैदलमार्ग निर्माण गर्ने योजना अनुरुप प्रक्रिया अघि बढाइएको उनले बताए । पान्धारेको पानी लिफ्टिङ गरी चण्डी मन्दिरसम्म पुर्‍याइनेछ । उनले भने, “गाउँका खोल्साखाल्सीमा रहेको झरनालाई प्रचारप्रसार गरी क्यानोनिङको रुपमा विकास गर्न लागिएको छ ।” अटुट रुपमा बगिरहने पानीको मूल रहेकोले पशुपक्षी तथा माछापालन गरी व्यवसाय सञ्चालन गर्न सकिने पान्धारे बाराही मन्दिर संरक्षण समितिका सचिव वसन्तकुमार श्रेष्ठले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ