arrow

महेन्द्रसँग उपेन्द्र चिँढिए, यसरी बिग्रियो ट्युनिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
upendra-yadav-mahendra-yadav.jpg

काठमाडौं । मन्त्रीको सूचि राष्ट्रपति कार्यालयमा पठाउँदा अन्तिम समयमा प्रमोद साहको नाम हटाएर आफ्नो नाम राख्न सफल भएका कृषि तथा पशुपन्छी मन्त्री महेन्द्र यादवको अहिले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग ट्युनिङ बिग्रेको छ । 

पार्टी स्रोतका अनुसार पछिल्लो समय महेन्द्रसँग उपेन्द्र चिँढिएका छन् । दुई यादवको सम्बन्ध चिसिएको यसबाट पनि थाहा हुन्छ कि पछिल्लो समय महेन्द्र पार्टीका बैठक तथा पार्टीका कार्यक्रमहरुमा जान छाडेका छन् । 

गत साता राष्ट्रिय सभाको उम्मेदवार छान्न बोलाइएको कार्यकारिणी समितिको बैठकमा महेन्द्र गएनन् । जब कि उनी त्यस दिन काठमाडौंमै थिए । त्यसअघि बसेको अर्को बैठकमा पनि उनी सहभागी भएनन् ।

पार्टी अध्यक्ष यादवले केही दिनअघि प्रदेश २ को प्रदेश समिति गठन गरे । उपेन्द्रसँग निकट मानिएका रामबाबु यादवलाई प्रदेश २ को अध्यक्ष बनाइयो । 

प्रदेश २ समितिको पदाधिकारीमा एक जना पनि महेन्द्र निकट व्यक्तिलाई उपेन्द्रले मनोनित गरेनन् । यसपछि दुई नेताबीचको सम्बन्ध झनै चिसिन थालेको स्रोतले बताएको छ । 

जसपा विभाजनपछि जिल्ला तथा प्रदेश समितिहरु समायोजन गर्दा उपेन्द्रले महेन्द्रलाई पूरै बेवास्ता गरेका छन् । यहाँसम्म कि महेन्द्रकै गृह जिल्ला सर्लाहीमा जसपाको जिल्ला समितिमा पार्टी अध्यक्ष यादवले महेन्द्रको एक जना मान्छे पनि राखेनन् । 

उपेन्द्र र महेन्द्रबीच सम्बन्ध चिसिनुको अर्को कारण पनि छ । स्रोत भन्छ महेन्द्रले सम्हालेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा महेन्द्रले गरेको नियुक्ति तथा कार्यशैलीसँग पार्टी अध्यक्ष यादव सन्तुष्ट छैनन् । 

पार्टी अध्यक्षसँग सरसल्लाह र छलफल नगरेरै महेन्द्रले एकलौटी किसिमबाट मन्त्रालय चलाएको उपेन्द्रको बुझाइ छ । 

उपेन्द्र निकट कार्यकारिणी समितिका एक सदस्यले भने, ‘बरु संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले कुनै ठूलो निर्णय गर्दा या राजनीतिक नियुक्तिहरुमा पार्टी अध्यक्षसँग सरसल्लाह लिने गर्नुहुन्छ । तर कृषि मन्त्रीले पार्टी अध्यक्षलाई पूरै बेवास्ता गरेको देखियो ।’ 

जसपा विभाजन हुँदा महेन्द्रले उपेन्द्रलाई साथ दिएका थिए । यही गुन तिर्दै उपेन्द्रले महेन्द्रलाई कृषि मन्त्री बनाएका हुन् । 

उपेन्द्र निकट नेताहरु भन्छन् ‘तर महेन्द्रले अहिले भित्रभित्रै पार्टीमा अर्को गुट निर्माण गर्न खोजेका छन् ।’  

महेन्द्र यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य थिए । राजपामै हुँदा महन्थ ठाकुर र राजेन्द्र महतोसँग उनको सम्बन्ध बिग्रेको थियो । 

जसपा गठन भएपछि पार्टीभित्रको विवादमा उनले उपेन्द्रलाई साथ दिएका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ