arrow

दार्चुलामा सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
darchula-meet.PNG

दार्चुला । आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोना खोप कार्ड अनिवार्य गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । 

अब सार्वजनिक स्थानहरूमा प्रवेश गर्दा अनिवार्य रूपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड देखाउनुपर्ने छ । खोप कार्ड मोबाइलमा खिचेर राखेको भए पनि हुनेछ । गृह मन्त्रालयले खोप कार्ड अनिवार्य कार्यान्वयन गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको निर्देशन बमोजिम यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 

बढ्दो रूपमा रहेको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा नाकामा निगरानी बढाइने भएको छ । भारतसँग सीमा जोडिएका नाकाहरूबाट भित्रने नागरिकहरूको अनिवार्य एन्टिजेन परीक्षणको व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ । 

यस्तै जिल्लाको मुख्य नाका नेपाल-भारत जोड्ने खलङ्गा पुलघाटमा यसअघि देखि जारी रहेको खोप अभियानलाई निरन्तरता दिने, स्थानीय तहको समन्वयमा सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन टेष्ट बुथ स्थापना गर्ने र नियमित परीक्षण गर्ने बैठकले निर्णय गरेका छन् । कोरोना पोजेटिभलाई आइसोलेसनमा राख्न स्थानीय तहलाई कम्तीमा एउटा संस्थागत आइसोलेसन सञ्चालन गर्न भनिएको छ । 

साथै दार्चुला जिल्ला अस्पतालमा एउटा सुविधा सम्पन्न एम्बुलेन्स व्यवस्थाका लागि सुदूरपश्चिम सरकार, सामाजिक मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । पछिल्लो समय दार्चुलामा कोरोना सङ्क्रमण दिनहुँ जसो बढिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ