arrow

मातृका कोइरालाका पनाति समाजसेवामा, मनिषाले भनिन् - आत्रेयबाट नयाँ आशा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
manishas.PNG

काठमाडौं। पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका पनाति आत्रेय कोइरालाले मुलुकको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ ‘नयाँ उज्यालो फाउण्डेशन’ स्थापना गरी काम अगाडि बढाएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाको विधिवत् रूपमा उद्घाटन गरिएको हो । 

प्रमुख अतिथि अभिनेत्री मनिषा कोइरालाले आफूबाहेक अरूको बारेमा पनि सोच्ने समाज विकास हुँदै गएको बताइन् । उनले नयाँ पुस्ताले नयाँ आशाहरू देखाएको बताइन् । उनले भनिन्, ‘अबको पुस्ताले आफूबाहेक अरूको बारेमा पनि सोच्न थालेको छ, समाज र देशमा नयाँ आशा विकास भएको छ ।’

नयाँ उज्यालो फाउण्डेशनका अध्यक्ष आत्रेय कोइरालाको प्रशंसा गर्दै समाजमा अरूको बारेमा सोच्ने भावना विकास गर्दै अगाडि बढेको बताइन् । सानै उमेरमा आत्रेय समाजसेवामा लागेकोमा गर्व महसुस भएको बताइन् । ‘उसको सोच र काम कस्तो राम्रो । यो उमेरमा केटाकेटीहरू खेल्छन् र आफ्नो करियरको बारेमा सोच्ने गर्छन् । तर, उसले एउटा होप देखाएको छ कि अब आउने पुस्ताले आफूबाहेक अरूको बारेमा पनि सोच्नेछ ।’ किशोरावस्थामै आत्रेयले गरेको कामलाई प्रोत्साहन गर्नुपर्ने बताइन् । 

संस्थाको अवधारणा पत्र प्रस्तुत गर्दै संस्थापक अध्यक्ष आत्रेय कोइरालाले शिक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै ‘सधैका लागि, सबैका लागि स्वस्थ्य’ भन्ने मूल नाराका साथ २०७८ सालमा नयाँ उज्यालो फाउन्डेसन स्थापना भएको बताए । शिक्षा र स्वास्थ्य भनेको देश विकासको पहिलो आधार भएको बताउँदै संस्थाको मूल उद्देश्य भनेको दुर्गम क्षेत्र र गरिबीको रेखा मुनी रहेका नेपालीहरूलाई सहज तरिकाले औषधि र स्वास्थ्य उपचार प्रदान गर्ने भएको स्पष्ट पारेका थिए । 

शिक्षा र स्वास्थ्यलाई नेपालको संविधानले मौलिक अधिकारको रूपमा राखेको, संयुक्त राष्ट्र सङ्घले पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै आफूले यही क्षेत्रमा काम गर्ने जमर्को गरेको बताए । राज्यको नीति पनि लोककल्याणकारी भएको हुँदा स्वास्थ्य क्षेत्रको विकास विना अन्य क्षेत्रको विकास अधुरो हुने बताए ।

‘हाम्रो उद्देश्य दुर्गम क्षेत्र र गरिबीको रेखा मुनी रहेका नेपालीहरूलाई सहज तरिकाले औषधि र स्वास्थ्य उपचार प्रदान गर्ने हो,’ आत्रेयले भने । देशका विभिन्न क्षेत्रमा स्वास्थ्य चौकी र एम्बुलेन्स सेवा दिने लक्ष्य पनि सुनाए । ‘स्वास्थ्यको लागि हाम्रो यस प्रयासमा सबैलाई सहयोग गर्न अनुरोध गर्दछौँ,’ अवधारणा पत्रमा भनिएको छ । 

आत्रेयकी हजुरआमा समाजसेवा तथा शिक्षाविद् ललिता प्रसाईले आत्रेयलाई टेलिभिजनमा सामान्य औषधी उपचार समेत नपाएर ज्यान गएको घटनाहरू देखेर यस्तो सेवाको काम गर्ने प्रेरणा मिलेको बताइन् । उनले भनिन्, ‘मेरो पकेटमनिबाट सुरु गर्छु भनेर १६ वर्षको उमेरमा यो काममा लागेको हो । अहिलेसम्म धेरै कामहरू गरिसेकेको छ । यसलाई यो सोच सधैँ आइरहोस् । हामीले हाम्रो समाजमा सधैँ सेवा गर्नुपर्छ’ । 

संस्थाका सल्लाहकार राजकुमार उप्रेतीले आज विधिवत् रूपमा स्थापित भएको ‘नयाँ उज्यालो फाउण्डेशन’ एउटा संस्थाको नाम मात्र नभएर स्वास्थ्यको क्षेत्रमा उज्यालो ल्याउने दाबी गरेका थिए । ‘स्वास्थ्यको पहुँच जनतासम्म नपुगिरहेको अवस्थामा यो संस्थाले काम गर्नेछ,’ उनले भने । उनले कोभिडको समयमा विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरू सहयोग गर्ने देखि सचेतना फैलाउने सम्मका काम निरन्तर रूपमा गरिरहेको प्रकाश पारेका थिए । ‘रेल अगाडी बढेको छ गन्तव्यमा नपुगेसम्म निरन्तर अगाडी बढ्नेछ । सरकारले केही काम गर्न छुटाएको रहेछ भने हामीले झकझकाउन पर्छ,’ उनले भने । 

नेपाली काँग्रेसका युवा नेता तथा पाँचखाल नगरपालिका मेयर महेश खरेलले आत्रेय कोइरालामा देखिएको सेवा भाव सबैका लागि उदाहरणीय रहेको बताए । नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापित गर्न ठूलो भूमिका खेलेको कोइराला परिवारको कान्छो सदस्य सामाजिक काममा लागेको भन्दै खुशी व्यक्त गरेका थिए ।

यस्तै, बुढानीलकण्ठ नगरपालिका मेयर उद्धव प्रसाद खरेलले सानो उमेरमै आत्रेयले सबैलाई सेवा गर्न हौसला दिएको उल्लेख गर्दै आगामी दिनको लागि शुभकामना दिएका थिए । ‘आगामी दिनमा उज्यालो फाउन्डेसनले उज्यालो छर्न सकोस्, सानो काम गरेर ठूलो कुरा गर्ने भन्दा पनि सानो संस्था भए पनि ठूलो काम गर्न सकोस् मेरो शुभकामना छ,’ उनले भने । 

संस्थाका सुवेक्षुक सुशील उप्रेतीले गरिबीको रेखा मुनी रहेका नेपाली जनतामा आधारभूत आवश्यता पुर्याउन हेतुले खोलिएको यस संस्थाको कामले आफूलाई खुसी मिलेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ