arrow
ADVERTISEMENT

दुबईबाट छोराको शव ल्याउन नसकेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
bhujel-parent.PNG

काठमाडौं । संयुक्त अरब इमिरेट्सको अलबसामा अलपत्र अवस्थामा रहेको आफ्नो छोराको शव नेपाल ल्याउनका लागि आर्थिक सहयोग गरिदिन सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पतीले आग्रह गरेका छन् । 

सिन्धुपाल्चोक खाडीचौरका स्थायी बासिनद्या रही काठमाडौंको काँडाघारीमा अस्थायी रूपमा बसोबास गर्दै आएका श्याम बहादुर भुजेल र उनकी श्रीमती बुद्धिमाया भुजेलले छोराको शव ल्याउन आर्थिक अवस्थाले नभ्याउने भन्दै सहयोगका लागि अपिल गरेका हुन् ।

गत भदौ अन्तिममा छोरा विकास भुजेल बलजफती पर्यटक भिसाबाट संयुक्त अरब इमिरेट् पुगेको मृतककी आमा बेद्धीमायाले बताइन् । अलग भिसामा गएको छोरा काम गर्न थालेको र दसैँसम्म सम्पर्कमा रहेको भए पनि त्यस पछि सम्पर्क विहीन भएको उनले बताइन् ।

रोजगारी भिसामा गएको अवस्थामा मृतकको शव नेपाल ल्याउन समस्या नहुने भए पनि पर्यटक भिसामा दुबई पुगेर काम गर्न थालेका कारण उनको शव ल्याउन झण्डै ३ लाख रुपैंया खर्च लाग्ने र उक्त रकम आफूहरूसँग नभएको मृतक विकासका बाबु श्याम बहादुर भुजेलले बताए ।

“छोराले धेरै करकर गरेर कता के मिलाएर गएको थियो, अहिले शव पनि ल्याउन सकिएन, सहयोगीहरूको साथ पाए कम्तीमा मृत छोराको शव ल्याएर अन्तिम संस्कार गर्ने थियौँ,” भुजेलले भने । नेपाल बङ्गलादेश बैङ्कको काँडाघारी शाखामा रहेको श्याम बहादुर भुजेलको बैङ्क खाता नम्बर ०९६००२९३२ डब्ल्यू मा सहयोग रकम जम्मा गरिदिन उनले आग्रह गरेका छन् । साथै सहयोगका लागि आफ्नो सम्पर्क नम्बर ९८८७०८८७४२ मा फोन गर्न पनि उनले आग्रह गरेका छन् ।

संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले पनि २१ वर्षीय विकास भुजेलको मृत्यु भएको खबर स्थानीय प्रहरीले धेरै पहिले जानकारी गराए पनि बल्ल परिवारसँग सम्पर्कमा पुगिएको पुष्टि गरेका छन् । पर्यटक भिसामा आएका उनको शव ल्याउन व्यक्तिगत रूपमा आफुले सघाउने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

संयुक्त अरब इमिरेट्समा वेद अर्याल तथा अन्य सहयोगीहरूले भुजेलको शव नेपाल पठाउनका लागि समन्वय गरिरहेका छन् । त्यहाँबाट आर्थिक सहयोग गर्न चाहनेहरूले अर्याललाई सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ ।

गत भदौमा पर्यटक भिसामा दुबई पुगेका भुजेलको दसैँ लगत्तै मृत्यु भएको थियो । छोराको मृत्यु भएको खबर भुजेल दम्पतीले गत साता मात्र पाएका थिए । उनीहरूले रोजगारीका लागि विदेश जान चाहने जो कोहीलाई पनि आफ्नो छोराको जस्तो अवस्था नआओस् भन्दै अनिवार्य रूपमा श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ