arrow

विनोद चौधरी विरुद्धको उजुरी खारेज, रीत–प्रक्रिया केही पुगेन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
binod-chaudhary-chairman-group.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीविरुद्ध परेको उजुरी केन्द्रीय निर्वाचन समितिले खारेज गरेको छ । केन्द्रीय सदस्यमा निर्वाचित भइसकेपछि उनको उम्मेदवारीलाई लिएर परेको उजुरी निर्वाचन समितिले खारेज गरेको हो । उनको योग्यता सम्बन्धमा निर्वाचनमा पराजित भएका डा. सुभाषचन्द्र यादवले उजुरी हालेका थिए । 

निर्वाचन प्रक्रियामा तोकिएको समयभित्र उजुरी नदिई परिणाम सार्वजनिक भएपछिमात्र उजुरी परेको भन्दै रीत–प्रक्रिया नपुगेको आधारमा समितिले निर्णय गर्दै उजुरी नै खारेज गरेको हो । गत मंसिर २४ देखि भएको पार्टीको १४ महाधिवेशनमा २५ गते मधेसी खुला कोटाबाट केन्द्रीय सदस्यमा चौधरी र यादवसहित २३ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएपछि उम्मेदवारविरुद्ध उजुरी दिने समय पनि सोही दिन तोकिएको थियो ।

तर उक्त समयभित्र भने उनीविरुद्ध उजुरी परेन । उनीविरुद्ध उनले जित हासिल गरेपछि पर्यो । २३ मध्ये पाँच जना निर्वाचित हुनेमा चौधरीले दोस्रो स्थानमा रहेर निर्वाचन जिते । छैटौं स्थानमा रहेर निर्वाचित हुन नसकेका डा. यादवले आफू पराजित भएपछि चौधरीको उम्मेदवारीको विषय (क्रियाशील सदस्यताबारे उठाइएको अयोग्यताबारे) लाई लिएर उजुरी हाले । 

त्यसपछि गत पुस ३० गते उक्त उजुरीबारे निर्णय गर्दै उजुरीकर्ता यादवले दिएको उजुरी प्रक्रिया पुर्याएर तोकिएको समयभित्र नआएको र परिणाम सार्वजनिक भएपछि मात्र आएको भन्दै उजुरी नै खारेज गरिएको हो । 

निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरे तथा सदस्यहरु सीताराम केसी, एगराज पोखरेल र तेजबहादुर रावलको बैठकले एकमतका साथ निर्णय गर्दै चौधरी विरुद्धको उजुरी खारेज गरेको हो ।

चौधरीको उम्मेदवारी हुने योग्यता सम्बन्धमा क्रियाशील सदस्यताबारे कार्यालय मुख्य सचिवले प्रमाणिकरण गर्ने भएकाले त्यहाँबाट प्रक्रिया पूरा गरी आएकाले सोही आधारमा निर्णय गरिएकोसमेत संयोजक घिमिरेले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ