arrow

रहेनन् रियाल मड्रिडका फुटबल लिजेन्ड गेन्टो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
francisco-paco-gento.jpg

काठमाडौं । फुटबल लिजेन्ड फ्रान्सिस्को पाको गेन्टोको निधन भएको छ । स्पेनिश फुटबलका विङ्गर गेन्टोको ८८ वर्षको उमेरमा निधन भएको हो । गेन्टोले स्पेनिश क्लब रियाल मड्रिडमा १८ वर्ष बिताएका थिए । उनी रियालबाट सन् १९५३ देखि १९७१ सम्म खेलेका थिए । रियालका लागि ६ पटक युरोपियन कप जित्ने गेन्टो एकमात्र खेलाडी हुन् । 

रियालका लागि ६ सय खेल खेलेका लेफ्ट विङ्गर गेन्टोले एक सय ८२ गोल गरेका थिए । उनले रियालका लागि १२ ला लिगा, २ कोपा डेल रे र १ इन्टरकन्टिनेन्टल कपसमेत जितेका थिए ।

उनले क्लब फुटबलमा २३ वटा उपाधि जितेका थिए । उनको यो रेकर्ड ५० वर्षसम्म रहेको थियो । उक्त रेकर्ड जनवरी १६ तारिखमा वर्तमान कप्तान मार्सेलोले बराबरी गरेका छन् । मार्सेलोले स्पेनिश सुपर कप जितेसँगै गेन्टोको बराबरी गरेका हुन् । 

स्पेनको राष्ट्रिय टिमका लागि भने उनले ४३ खेल खेलेका थिए । उनी सन् १९६२ र १९६६ को विश्वकप फुटबलमा स्पेनको टिममा थिए । 

गेन्टोको निधनप्रति दुःख व्यक्त गर्दै रियाल मड्रिडले उनलाई म्याड्रिडबासी र फुटबल प्रशंसकहरुले महान्मध्ये एकका रुपमा सम्झिरहने उल्लेख गरेको छ । रियालले उनकी श्रीमती मारी लुज, छोराहरु फ्रान्सिस्को र जुलिओ तथा नातिनीहरु आइताना र क्यान्डेलाप्रति हार्दिक समवेदना, माया र स्नेह प्रकट गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ