arrow
ADVERTISEMENT

कांग्रेस वीपीले लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गर्न एक महिने अभियान सञ्चालन गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
congress-bp.PNG

काठमाडौं ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न नेपाली कांग्रेस (वीपी) ले राष्ट्रियता बचाउने अभियान सञ्चालन गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले राष्ट्र र राष्ट्रियता बचाउने अभियानअन्तर्गत माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । फागुन ७ गते सातै प्रदेशमा सभा गर्ने पनि उसले जनाएको छ । 

कार्यक्रममा बोल्दै पार्टीका उपसभापति पुष्पराज पराजुलीले देशमा भ्रष्टाचार बढिरहेको उल्लेख गरे । तर, अहिले नेतृत्वमा रहेका नेताहरू देशप्रति गम्भीर नभएको उनको आरोप छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा लचिलो भएको आरोप लगाए । यसबाट मोदी सफल भएको उनको भनाई थियो । 

भारतसँग बोल्न प्रधानमन्त्री देउवाको आँट नभएको पनि उनले आरोप लगाए । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जति पनि देउवामा दम नभएको आरोप लगाउँदै पराजुलीले कोइरालाले २०७२ सालमा चीन र भारतलाई सीमाको विषयमा कूटनैतिक नोट पठाएको स्मरण गराए । 

नेपाली भूभाग लिपुलेकमा नेपालको अनुमति नलिई बाटो बनाउने काम गलत हो र यसलाई रोक्नुहोस् भनेर पनि नेपाल सरकारले भारत सरकारलाई भन्न नसकेको उनको टिप्पणी छ । 

उनले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिपुलेक फिर्ता लिएरै छाड्छौँ भनेको तर व्यवहारमा त्यसो नदेखिएको स्मरण गराउँदै ओलीको राष्ट्रवाद नक्कली भएको आरोप लगाए । उनले भने,‘नेपालको परराष्ट्रको जिम्मा भारतलाई दिने ओली नै हुन् र उक्त निर्णयलाई रोक्ने गिरजाप्रसाद कोइराला हुन् । ओलीको राष्ट्रियता नाङ्गिइसकेको छ ।’ 

पराजुलीले सबै सांसदले लिपुलेक हाम्रै हो भनेर खुशी हुँदै हस्ताक्षर गरेको स्मरण गराउँदै ओलीले पाठ्यक्रममा राख्न नसकेर राष्ट्रियताबारे उनको चरित्र प्रस्ट देखिएको बताए । उनले भने,‘नेपाली जनतालाई ओलीले बेकुफ बनाए ।’ 

सत्तापक्ष र प्रतिपक्ष अहिले सबै विदेशी शक्ति केन्द्रबाट पालित÷पोषित भएको आरोप लगाउँदै उनले भने,‘सत्तापक्ष र प्रतिपक्ष दुवै शक्तिले देशको लगि केही गर्न सक्दैनन् ।’ 

उनले प्रधानमन्त्री देउवा र ओलीमा साँच्चिकै राष्ट्रवाद छ भने पाठ्यक्रममा नेपालको नयाँ नक्सा समावेश गरी सार्वजनिक गर्नसमेत चुनौती दिए । उनले अब देउवा र ओलीको कुरा नेपाली जनताले नपत्याउने पनि दाबी गरे ।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत सबै नेताहरू उस्तै भएको टिप्पणी गरे । उनले भने,‘कोही नेता देशप्रति जिम्मेवार छैनन् । उनीहरू विदेशीको इशारामा चलेका छन् ।’ 

राजसंस्था र राजनीतिक दलहरूबिच समस्या आएपछि विदेशीहरूले चलखेल गर्न पाएको उनको भनाई थियो । उनले राजसंस्था र राजनीतिक दलहरू मिल्नुपर्नेमा जोड दिए । राजाले प्रजातन्त्र र दलले राजसंस्था भुल्न नहुने उनको तर्क छ । भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल भएको भन्दै उनले मुलुकलाई धर्मनिरपेक्ष बनाउने कार्यमा लाग्नेहरू विदेशीको एजेन्ट भएको गम्भीर आरोप लगाए ।

सुरुदेखि हालसम्मै देशको भ्रष्टाचारको मूल नायक प्रधानमन्त्रीहरू नै भएको उनको टिप्पणी छ । उनले अहिलेसम्म भएका सबै प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्न पनि माग गरे । उनले भने,‘श्रोत नखुलेका सबैका सम्पत्ति राष्ट्रियकरण गर्न पनि म यही मञ्चबाट माग गर्दछु ।’ उनले न्यायालयलाई उच्च स्थानमा राख्नुपर्ने बेलामा न्यायालयलाई दलहरूले नै घेराबन्दी गरेको जिकिर गरे । 

यसै गरी, पार्टीका वरिष्ठ उपसभापति गोविन्दप्रसाद शर्माले नेपाली कांग्रेस वि.पि.को स्थापना र यसको उद्देश्य भनेको नै विपीले गरेको समाजवादको परिकल्पना पुरा गर्ने रहेको सुनाए । उनले भने,‘नेपालमा प्रजातन्त्र र राष्ट्रियताको रक्षाको लागि विपीले गरेको परिकल्पना, विपीको समाजवादको रक्षाको लागि यो पार्टी स्थापना भएको हो ।’ उनले आफ्नो पार्टीको सङ्गठन वडा तहसम्म विस्तार गर्ने बताए । पार्टीको अबको योजना जनतामाझ आफ्नो धारणा पुर्‍याउने हो ।–उनले भने,‘नेपाली जनतालाई उद्यमशीलताको माध्यमबाट अगाडि बढाउने, दिनको १÷२ घण्टा पार्टीलाई पनि समय दिने, विपीको विचारलाई बोकेर हिँड्ने र उनेको सपना पुरा गर्ने हाम्रो लक्ष्य राखेका छौं ।’ अब उनले सातै वटा प्रदेश र ७७ जिल्लामा आफ्नो पार्टीको सङ्गठन विस्तार गरिने पनि जानकारी दिए । 

शर्माले देशलाई विस्तार र विकास गर्नलाई आफ्नो पार्टी अगाडि बढेको स्पष्ट पारे । उनले भने,‘खाडीका देशहरू आज सुन फलाउने भएका छन्, तर हाम्रो देश नेपाल प्राकृतिक सम्पदाको हराभरा भए पनि उजाडिँदै गएको छ ।’ विपीको समाजवाद र गणेशमान सिंहको त्यागलाई नेपाली कांग्रेस विपीले आगामी दिनमा जनतामाझ बुझाउँदै लैजाने स्पष्ट पारे । 

‘हामीलाई राष्ट्रियता प्यारो छ, देश प्यारो छ । आज देशलाई अगाडि बढाउन चाहेका छौं ।’ उनले थपे । नेता शर्माले देशका जनता सबैलाई विभिन्न किसिमका रोजगारी दिन चाहेको पनि बताए । शर्माले कोभिडले ग्रस्त बनाएको बेला कसैलाई देश र जनताको चिन्ता नभएको भन्दै अब आफ्नो पार्टीले देश बनाउने पनि जिकिर गरे । उनले राष्ट्रियताको रक्षाको लागि आफ्नो पार्टी साथ र समर्थन गर्न सबैलाई आग्रह गरे । 

कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का महामन्त्री भक्तराज भुसालले २००३ सालदेखि नेपाली कांग्रेस सुरु भएर २०७८ सालमा आउँदा कांग्रेसका कार्यक्रम र एजेन्डामा विचलन आएको आरोप लगाए । त्यही भएर आफूहरूले २०७४ साल असार ३० गते नेपाली कांग्रेस (वि.पी.) को स्थापना गरेको उनले स्पष्ट पारे । 

उनले स्थापनाकालपछि आफ्नो पार्टीले विभिन्न एजेन्डा बोकेर चुनावमा सहभागी भएकोसमेत स्मरण गराए । उनले भने,‘अब वी.पि. कांग्रेसले जनतामाझ आफ्ना विचार र कार्य योजना बोकेर जान्छ । जनताले हामीलाई विश्वास गर्नुहुन्छ भन्ने लागेको छ ।’ 

यसै गरी, पार्टीका लुम्बिनी प्रदेशका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको बताए । उनले कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएको बेला देशको सिमानाका मिचिने भएकोले सबै सचेत हुनुपर्नेमा जोड दिए । 

जीवन रहे जिन्दगी हेर्न पाइने भन्दै उनले कोरोना कालको समयमा देशको सीमा जोगाउन नेपाली कांग्रेस (वी.पी.) तत्पर रहेको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको पनि उनले स्पष्ट पारे । 

कोरोनको भेरियन्ट पटक–पटक आएको भन्दै उनले देशमा कोरोना कालमै भ्रष्टाचार बढेको आरोप लगाए । जनतालाई थिचोमिचो गरेर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले गलत भूमिका खेलेको उनको भनाई थियो । उनले अब आफ्नो पार्टीले राष्ट्रमा भएको बेथितिबारे भण्डाफोर गर्ने पनि जानकारी दिए । 

देशमा राष्ट्रिय जागरण ल्याउने उद्देश्यले सारा जनताको घरदैलोमा पुगेर बेथिति र भ्रष्टाचारको बारेमा बताउनको लागि (आजकै दिन) माघ ७ गतेबाट कार्यक्रमको सुरुवात गरेको सुनाए । सबै मिलेर नेतृत्वमा रहेकाहरूलाई दबाब दिनुपर्नेमा उनले जोड दिए । 

त्यस्तै, कार्यक्रममा बोल्दै धर्मगुरु भिम्पोक्षे लामाले देशका सबै जनताले सहयोग गरेर आउने दिनमा नेपाली कांग्रेस (वी.पी.)लाई पहिलो पार्टी बनाउनुपर्ने धारणा राखे । 

धर्मगुरु लामाले देशभरका सबै जनतालाई देश प्रेम वी.पि कांग्रेसलाई सहयोग गरेर ठुलो पार्टी बनाउन आग्रह गरे । उनले आगामी दिनमा वि.पी.कांग्रेसलाई धार्मिक संस्थाहरूले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरे । अहिलेका नेतृत्वमा रहेका पार्टीहरूले सेवाभन्दा पनि नाफाको हिसाबले राजनीति गरेको उनले आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ