बालकुमारी मन्दिरको लिच्छविकालीन मूर्ति चोरी, मन्त्रीले दिइन् खोजी गर्न निर्देशन
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
960
Shares
ललितपुर । ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आज बिहान चोरी भएको छ ।
स्थानीयवासीबाट मूर्ति चारी भएको खबर थाहा पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय एवं प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको छ ।
आज बिहान करिब ३ देखि ४ बजेको समयमा चोरी भएको हुनसक्ने अनुमान गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए । उनका अनुसार नौ ताला काटेर र चार ढोका फोरेर सो मूर्ति चोरी भएको छ ।
पाँच-छ सय वर्ष पुरानो लिच्छविकालीन मूर्ति चोरी घटना अत्यन्त दुःखद भएको भन्दै तत्काल खोजी गरी दोषीमाथि कारबाही गर्न मन्त्री भुसालले निर्देशन दिएकी छन्।
उनले भनिन्, “यो निन्दनीय कार्यको भत्र्सना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको छु, विश्वास छ सो ऐतिहासिक तथा पूरातात्विक मूर्ति छिट्टै भेटिनेछ ।”
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर खोजी कार्यलाई तीव्र तुल्याइएको जनाएको छ ।