- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ औँ वर्षमा प्रवेश गरेको छ। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगद रहित अर्थतन्त्र निर्माणको बाटोमा महत्त्वपूर्ण योगदान पुर्याउन सफल भएको कम्पनीले जनाएको छ।
१३ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या ५० लाख नाघेको छ। यसै गरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसङ्ख्याले इसेवा मार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब १ लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हालसम्म इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको सङ्ख्या पनि करिब ५० लाख पुगिसकेका छन्। इसेवामा हाल मर्चेन्टको सङ्ख्या २ लाख बढी रहेको कम्पनीको विज्ञप्तिमा भनिएको छ।
१३ औँ वार्षिक उत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले भने ‘१४ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हामी हाम्रा समस्त ग्राहक, एजेन्ट, मर्चेन्ट, सहयात्री बैङ्क तथा वित्तीय संस्था, नियामक निकाय र सम्पूर्ण सरोकारवाला निकायमा आभार प्रकट गर्दछौँ। कोभिड महामारीको अहिलेको समयमा धेरै भन्दा धेरै डिजिटल भुक्तानी सेवा प्रदान गरी आम नेपालीको दैनिक जनजीवन सहज बनाउने हाम्रो अभियान अझ बढी सशक्त रूपमा अगाडी बढाउन हामी प्रतिबद्ध छौँ।’
इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ। १३ वर्षे यात्रामा आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झने अवस्थामा ल्याइ पुर्याएको छ। आगामी दिनमा इसेवाले बैङ्क तथा वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरी प्रत्येक नेपाली नागरिकलाई नवीनतम प्रविधि र सेवाहरू प्रदान गर्ने योजना बनाएको छ।
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खाने पानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
इसेवामा हाल ५१ वटा बैङ्क तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैङ्कबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैङ्क खातामा रकम पठाउन सकिन्छ।