arrow
ADVERTISEMENT

चिनियाँ अघोषित नाकाबन्दीले नेपाललाई ठूलो संकट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
tatopani-naka.jpeg

काठमाडौं । विगत दुई वर्षभन्दा पनि लामो समयदेखि चीनसँग जोडिएका उत्तर नाका खास गरी तातोपानी र रसुवागढीबाट नेपालसँगको आयात र निर्यातमा ठूलो रोकावट भएको छ ।

चिनियाँ पक्षले कोरोना भाइरसको महामारीको बहाना बनाउँदै नेपाली निर्यातलाई चटक्कै रोकेको छ भने, चीनबाट नेपाल आउने सामान बोकेका कन्टेरनहरुलाई समेत बाटोमै रोक्ने गरेको छ ।

महामारीअघि दैनिक १५० वटा कन्टेनरको सामान बोकेका ट्रकहरु नेपालतर्फ आउने गर्थे । तर, हाल भने चीनले दैनिक १० र बढीमा १५ वटा कन्टेनरमात्रै नेपालतर्फ आउन दिने गरेको छ ।

नेपालबाट चीन निर्यात हुने हस्तकला र अन्य सामग्रीहरुमा भने चीनले पूर्णरुपमा रोक लगाएको छ । उसो त चीनले महामारी अघि पनि भूकम्प र त्यसअघि सिन्धुपाल्चोकको जुरेमा अरनिको राजमार्ग अवरुद्ध भएको बहाना बनाएरसमेत नेपालसँग व्यापारमा कडाइ गर्न थालेको थियो ।

पछिल्ला महामारीका दुई वर्ष र थप दुई गरी ४ वर्षमा चीनले नेपाललाई उत्तरी नाकाबाट हुने व्यापारमा निकै संकटमा पारेको छ । आर्थिक वर्ष २०७६।७७मा चीनबाट हुने आयातको २० प्रतिशत हिस्सा यी दुई नाकाबाट भएको थियो । तर, गत वर्ष यो घटेर २ं.५ प्रतिशतमा झरेको छ ।

नेपालबाट चीनमा हुने निर्यातको ६१ प्रतिशत निर्यात यसअघि यो नाकाबाट हुने गरेको थियो । तर, पछिल्ला दुई वर्षयता चीनमा हुने निर्यात यी नाकाबाट शून्यमा झरेको छ ।

नजिकको नाकामा चीनले अघोषित नाकाबन्दी गरेपछि समुद्रबाट भारतको कोलकाता हुँदै नेपाल सामान ल्याउँदा नेपालमा महँगी बढेको छ । अर्काेतर्फ सोही मार्ग हुँदै नेपाली सामान चीन निर्यात गर्नसमेत निकै महँगो र कठिन अवस्था सिर्जना भएको छ ।

पछिल्ला ४ वर्षमा चीनसँगको निर्यात घटेर आधा भन्दा कममा पुगेको छ । चीनले अघोषित नाकाबन्दी गरेर नेपाललाई आर्थिक समस्यातिर धकेलेकाे र यसकाे पछाडि भुराजनीतिक  कारणहरु रहेकाे नेपाली व्यापारीवर्ग, सर्वसाधरणा र सराेकारवालाहरूकाे आरोप छ ।

खासगरी नेपालमा अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने कुरा चल्दै गर्दा र नेपाल भारतबीचको निकट सम्बन्धलाई लिएर चीनले आफ्नो तर्फबाट नेपालमाथि दबाब सिर्जना गर्न यस्तो गरिरहेको कतिपय विश्लेषकहरुको भनाइ छ ।

अर्कातर्फ चीनले आफ्नो रणनीतिक स्वार्थ र नेपालको आन्तरिक राजनीतिक र अन्य मामिलामा पहुँच बनाउनका लागि यस किसिमको दबाब दिइरहेको अर्काेथरी आरोप छ । उसो त चीनले त्यहाँ एमबीबीएस पढिरहेका नेपाली विद्यार्थीहरुलाई फिर्ता नलगेर अन्यौलपूर्ण अवस्थामा छोड्नुको बिषयलाईसमेत यसैसँग दाजिएको छ ।

यीबाहेक चीनले नेपालसँग सरोकार राख्ने हरेक क्षेत्रमा आफ्नो दबाब बनाइनै राखेको भने देखिन्छ, जसको क्षति नेपालले व्योहोर्नु परेको छ ।

चिनियाँ अघोषित नाकाबन्दीको विरोधमा नेपालमा निरन्तर प्रदर्शनसमेत भइरहेको छ । नेपालस्थित चिनियाँ राजदूतावासलाई अनेक पक्षबाट र सरकारी तवरबाट समेत अघोषित नाकाबन्दी हटाउन, नेपालमा रहेका विद्यार्थीलाई फिर्ता लगिदिन आग्रह हुँदै आएको छ ।                         तर, चीनले भने नेपाली सरकारलाई नै टेर्न छोडेको यी बिषयहरुले देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ