- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य रञ्जित कर्णले पदीय मर्यादा भुलेर अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई हटाएर कानूनअनुसार कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माग गरेका छन् ।
सप्तरी जिल्ला प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै कर्णले गत माघ ५ गते रौटहटको गौरमा बलिदानी दिवस कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा मन्त्री यादवले किसान आन्दोलनको नाममा भइरहेको गतिविधिलाई लक्षित गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई संकेत गर्दै दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गर्दै कारबाहीको माग गरेका हुन् ।
उक्त कार्यक्रममा मन्त्री यादवले २०६३ चैत ७ गते गौरको राइस मिलमा माओवादीका २७ कार्यकर्ताको भएको विभत्स हत्या जस्तै घटना फेरि गराउने बताएकी हुन् । जबकि उक्त घटनालाई जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादवले भवितव्य भन्दै आएका छन् । उपेन्द्रको बोलीलाई गलत सावित गर्दै मन्त्री यादवले त्यस्तै घटना दोहोरिन सक्ने चेतावनी दिएकी थिइन् ।
नेता कर्णले त्यस्ता अभिव्यक्तिलाई संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।
उनले गौरमा जाहेरी दर्खास्तसमेत दिएका छन् ।