arrow

कोरोना संक्रमणको प्रभाव : धमाधम सरकारी कार्यालय बन्द

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ माघ १४ शुक्रबार
syangja-covid.PNG

स्याङ्जा । एक साता देखि जिल्ला प्रशासन कार्यालय स्याङ्जा अनिश्चित कालिन जस्तै बन्द छ । पौष १० गते देखि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द हुने गरी सूचित गरेको छ । 

तेस्रो लहरको कोरोना भेरियन्ट जिल्लामा भित्रिएसँगै सबै भन्दा पहिला जिल्ला प्रशासन कार्यालय बन्द हुन पुगेको छ । जिल्लाको कोभिड नियन्त्रणको आदेश पाएको जिल्ला प्रशासन नै कोरोना संक्रमणको निशानामा परेको छ । कर्मचारी धमाधम संक्रमण हुन थालेपछि सेवा प्रवाह बन्द गर्नु परेको जिल्ला प्रशासनले जनाएको छ । 

शुरुमा ४ जनामा संक्रमण देखियो प्रजिअ राजु पौडेलले भने,‘अन्य कर्मचारीमा पनि कोभिडकै लक्षण देखिन थालेपछि बन्द गर्न बाध्य भयौँ ।’ शान्ति सुरक्षा लगायत अत्यावश्यकलाई भने प्राथमिकतामा राखेर सेवा भने दिएका छौ उनले भने । शान्ति सुरक्षा र अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङ्घसंस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरण लगायतका सेवाहरू बन्द हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । 

कोभिड संक्रमणको तेस्रो लहर आएसँगै स्याङ्जामा एक दर्जन भन्दा बढी कर्मचारी संक्रमणमा परेको प्रजिअ पौडेलले बताए । प्रजिअ पौडेलका अनुसार जिल्लामा स्वास्थ्यकर्मी सहित अन्य कर्मचारी गरेर दुई दर्जन भन्दा बढी संक्रमणमा परेका छन् । कोरोना संक्रमणकै मारमा अर्को कार्यालय मालपोत र नापी परेको छ । वालिङ स्थित रहेका दुई कार्यालय मालपोत र नापी पनि एक साताका लागि बन्द गरिएको छ । 

कार्यालयको फाँटमा काम गर्ने कर्मचारीमा संक्रमण देखिएपछि सेवा प्रवाहमा कठिनाइ भएको भन्दै एक साताका लागि सेवा बन्द गरेको जनाएको छ । पुतली बजार नगरपालिका ११ नम्बर वडा कार्यालयले पनि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै एक सातादेखि बन्द गरिएको छ । यस कार्यालयले पनि कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द गरेको जनाएको छ ।
 
जिल्ला अस्पताल र गल्याङ नगर अस्पतालमा पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेक सबै सेवाहरू बन्द गरेको बताइएको छ । स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि खोप लगाउनमा समेत समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्ला अदालतका कर्मचारीमा संक्रमण देखिए पनि सेवा प्रवाहमा भने कुनै कठिनाइ नभएको बताइएको छ । कर्मचारीमा नै संक्रमण देखिन थालेपछि जिल्लामा सूचना टाँसेर कार्यालय बन्द गर्ने लहर नै चल्न थालेको छ ।  तेस्रो लहरको रूपमा देखा परेको कोरोना संक्रमण फैलने गति स्याङ्जामा तीव्र रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

पौष २६ गते देखी तेस्रो लहरको कोरोना संक्रमण परीक्षण जिल्लामा सुरु भएको थियो । झन्डै २० दिनको अवधिमा १ हजार जनामा संक्रमण देखिएको छ । विगतमा आएको संक्रमण भन्दा यो पटकको संक्रमण फैलिने दरमा तीव्र रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । 

अहिले संक्रमित भइरहेकामध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार १८ वर्षभन्दा माथिको उमेर समूहमध्ये लक्षित सङ्ख्याको १ सय २ प्रतिशतले दुबै डोज खोप लगाएको तथा १२ देखि १८ वर्ष उमेर समूहको जनसङ्ख्याको ८५ प्रतिशतले खोप लगाएको जनाएको छ । संक्रमण फैलने क्रम तीव्र रहेकाले सचेत हुन स्वास्थ्यले पटक पटक आग्रह गर्दै आएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ