काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमनसिंह थापाको निधन भएको छ । अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो ।
केही समयअघि उनको मिर्गौला प्रत्यारोपण भएको थियो । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन् ।
यसैबीच नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘हार्दिक श्रद्धान्जली ! हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) केन्द्रीय निर्वाचन आयोग सदस्य तथा संविधानसभा सदस्य कमरेड डा. दुमनसिंह थापाको अप्रत्यासित दुःखद निधनको खबरले मलाई स्तब्ध बनाएको छ । दुःखको यस घडीमा कमरेड डा. दुमनसिंह थापाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’