- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटका लागि ५९० खेलाडीबीच अक्सन हुने भएको छ । जसमा ३७० भारतीय र २२० खेलाडी विदेशी रहने छन् । विदेशी खेलाडीमा नेपालबाट केबल एक खेलाडीमात्र अक्सनमा हुने भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आज सार्वजनिक गरेको अक्सनको सूचीमा नेपालबाट कप्तान सन्दीप लामिछानेमात्र परेका हुन् । अक्सनबाट सन्दीप कुनै पनि टिमले भित्र्याउन चाहे न्यूनतम ४० लाख भारु तिर्नुपर्ने हुन्छ ।
अक्सन फेब्रुअरी १२ र १३ तारिखमा हुनेछ । नेपालबाट अक्सनका लागि १५ खेलाडीले नाम दर्ता गराएका थिए । जसमा आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशान भारी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरी रहेका थिए ।
५९० खेलाडीमध्ये ३५५ जना नयाँ र २२८ पहिले पनि सहभागी भइसकेका खेलाडी हुन् । दुई दिने मेगा अक्सनमा १० टिमले सहभागीता जनाउने छन् । यसअघि आठ टिम सहभागी हुँदै आएका थिए ।
दिग्गज खेलाडीहरु वेष्ट इन्डिजका क्रिस गेल, अष्ट्रेलियाका मिचेल स्टार्क, इङ्गल्याण्डका साम करन, बेन स्टोक्स, जोफ्रा आर्चर, जो रुट, क्रिस वोक्सले अक्सनमा भाग लिने छैनन् ।
दुई करोड भारुको बेस प्राइसमा ४८ खेलाडी रहेका छन् । २० खेलाडीले डेढ करोड भरु तथा ३४ खेलाडीले एक करोड भारु बेस प्राइस तोकेका छन् ।
२२० विदेशी खेलाडीमा अष्ट्रेलियाका ४७, वेष्ट इन्डिजका ३४, दक्षिण अफ्रिकाका ३३, इङ्गल्याण्डका २४, श्रीलंकाका २३, न्यूजिल्याण्डका २४, अफगानिस्तानका १७, बंगलादेश र आयरल्याण्डका समान ५–५, नामिबियाका ३, स्कटल्याण्डका २ तथा नेपाल, अमेरिका र जिम्बाब्वेका १–१ खेलाडी हुन् ।
सन् २००८ देखि शुरु भएको आईपीएलमा मुम्बई इन्डियन्सले पाँच पटक, चेन्नई सुपर किङ्सले चार पटक, कोलकाता नाइट राइडर्सले दुई पटक तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स र सनराइजर्स हैदराबादले एक एक पटक उपाधि जितेका छन् ।