arrow

पूजापाठ गरी मनाइयो सोनाम ल्होछार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
boudhanath.PNG

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज चैत्य एवं गुठीमा पूजा आराधना गरी मनाइएको छ ।
 
राजधानीमा विशेषगरी बौद्ध र स्वयम्भू क्षेत्रमा सोनाम ल्होछार मनाउने गरिन्छ । बौद्ध क्षेत्रका गुठी एवं चैत्यमा पूजा पाठ गरिए पनि औपचारिक कार्यक्रम भने गरिएन । बौद्ध महाचैत्यमा घुम्ने श्रद्धालुको भने भीड देखिएको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाले जानकारी दिए । 

कोरोना महामारी नहुँदा बौद्ध क्षेत्रमा शान्ति पदयात्रासहित सांस्कृतिक कार्यक्रम गरेर सोनाम ल्होछार मनाउने गरिन्थ्यो । स्वयम्भू क्षेत्रमा पनि विगत वर्षमा जस्तो औपचारिक कार्यक्रम एवं शान्ति पदयात्रा गरिएन । 

यहाँका चैत्य, गुम्बा र गुठीमा भने पूजा आराधना गरिएको स्थानीय रत्नसागर लामाले सुनाए । स्वयम्भू क्षेत्रमा पनि भक्तजनको भने भीड नै रहेको उनले सुनाए ।
  
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु भएको छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश भएको जनाइएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । 

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
 
ल्होछारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ जातिको बाहुल्य रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ । 

यस वर्ष सोनाम ल्होछारमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । पहिले यो पर्वका अवसरमा दिने गरिएको बिदा विगतको सरकारले कटौती गरेकामा विरोध भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ