arrow

गोरखामा बराम भाषाको पढाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
Baram Language.jpg

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकामा बराम भाषामा पढाई हुने भएको छ। गाउँपालिकाको वडा नं. १ स्थित मनकामना आधारभूत विद्यालयमा आउँदा सातादेखि पढाई सुरु हुने प्रधानाध्यापक यामप्रसाद भट्टले बताए ।

गाउँपालिकाले मातृभाषामा पठन-पाठन गराउन छुट्टै शिक्षक व्यवस्था गरेपछि विद्यालय मङ्गलवार शिक्षक छनौट गरेको हो । 

कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले ऐच्छिक विषयको रूपमा बराम भाषामा पढ्नेछन् । ‘अहिले हामीसँग बराम भाषमा पढ्ने ४० जना विद्यार्थी छन्’ प्रअ भट्टले भने, ‘बिहान कि बेलुकीको सिफ्ट पारेर पढाउने भन्ने छलफल गर्दछौँ ।’

विद्यालयमा कक्षा १ देखि आठसम्ममा १५० जना विद्यार्थी अध्ययनरत छन् । नियमित कक्षामा असर नपर्ने गरी विद्यार्थीलाई भाषा कक्षा पढाउने उनले बताए । 

अहिले सबै तहकालाई एउटै कक्षामा राखेर पढाइन्छ । विनिका बरामलाई शिक्षक छनोट गरिएको र विद्यालय व्यवस्थापन समितिको बैठक बसेर नियुक्त गरेपछि बराम भाषाका कक्षा सुरु हुने विद्यालयले जनाएको छ ।

विद्यालयमा बराम भाषाका पाठ्यपुस्तक पनि आइसकेको छ । संस्कृत भाषा र बराम भाषामा पढाई सुरु गर्ने गरी गाउँपालिकाले कार्यक्रम तय गरेको अध्यक्ष ईश्वर पाण्डेले बताए । 

‘गाउँपालिका भित्र सबै जातजाति, भाषाभाषी सबैको संस्कृति परम्पराको संरक्षण गर्ने योजना छ’, उनले भने, ‘लोपोन्मुख जाति बरामको भाषा लोप हुन नदिन र संस्कृतको संरक्षण गर्न यो दुई विषय यो वर्षदेखि सुरु भएको हो ।’

गाउँपालिका भित्रका तामाङ, नेवार, कुमाल लगायत फरक फरक समुदायको भाषा संस्कृतिको संरक्षण गर्ने योजना पनि रहेको उनले बताए । 

भाषा आयोग र भाषा विज्ञान विभागको सहयोगमा बराम भाषाको पाठ्यक्रम देशभर एउटै रहेको जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष जगत बरामले बताए । अहिले १ देखि ३ सम्ममात्रै पाठ्यक्रम बनेको छ । कतिपय पालिकाले भने कक्षा ८ सम्मको पाठ्यक्रम पनि बनाएका छन् । 

यस अघि गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित अन्तरज्योती माध्यमिक विद्यालयमा बराम भाषामा पढाई हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ