- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजू देउवाको पहलमा सुदूरपश्चिमको राजधानी धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानसहित खेलग्राम बन्ने भएको छ ।
आरजूले धनगढीमा उक्त मैदान र खेलग्राम बनाउने पहल गरेकी हुन् । उनकै पहलमा मन्त्रिपरिषद बैठकको निर्णयबाट धनगढी उपमहानगरपालिका ३ मा रहेको ३९ हजार ९ सय १० वर्गमिटर जग्गा क्रिकेट मैदान र खेलग्राम बनाउने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
सरकारले पूर्वाधार निर्माणको लागि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समिति गठन गर्ने निर्णय पनि गरेको छ । सरकारको यो निर्णयसँगै धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल मैदान बन्ने भएको हो ।
यो नेपालकै सबैभन्दा ठूलो क्रिकेट मैदान हुने भएको छ । यसमा अन्तर्राष्ट्रिय क्रिकेट खेलहरु गराउन सक्ने गरी भौतिक पूर्वाधार तयार गरिने बताइएको छ ।
यसको पूर्ण जश आरजू देउवालाई गएको कांग्रेस निकट स्रोत बताउँछ ।
फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने योजना भने सुवाश शाहीको हो । उनी एक दशकदेखि ‘ड्रिम फाप्ला’ अभियान बोकेर हिँडिरहेका छन् ।
फाप्लालाई चिनाउनका लागि उनले व्यवसायीक क्रिकेट प्रतियोगितासमेत आयोजना गर्दै आएका छन् । मन्त्रिपरिषदको यो निर्णय सार्वजनिक भएसँगै उनले खुशी व्यक्त गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक हुनासाथ सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर खुशी व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले ‘फाप्ला अन्तराष्ट्र्रिय क्रिकेट रंगशाला र खेल ग्राम’लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ विघा जग्गा उपलब्ध गराएकोमा अत्यन्त हर्षानुभूति भएको छ ।’
उनले प्रधानमन्त्री देउवासँगै डा. आरजूलाई पनि विशेष धन्यवाद दिएका छन् । उनले खेलेका छन्, ‘धनगढीको मात्र नभइ सुदूरपश्चिम प्रदेशकै पहिचान, सम्मान र उत्थानलाई राज्यबाट सम्बोधन भएको यो अत्यन्तै खुशी र गौरवको अवसरमा यस अभियानलाई कार्यान्वयनमा ल्याइ पुर्याउन अतुलनीय भूमिका निर्वाह गर्नुहुने आदरणीय कांग्रेस नेतृ तथा सामाजिक अभियन्ता डा. आरजू देउवालाई विशेष धन्यवाद दिन चाहन्छौं ।’
शाहीले यो योजनाको निर्माणसँगै धनगढीको कायापलट हुने र यस क्षेत्रको विकास द्रूतगतिमा दौडने विश्वास गरेका छन् ।