अमेरिका र नेटोबाट 'सुरक्षा ग्यारेन्टी' माग्दै पुटिनले गरे रुसी कुटनीतिको प्रशंसा
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
510
Shares
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कूटनीतिको प्रशंसा गर्दै सुरक्षा ग्यारेन्टीको आवश्यकतामा जोड दिएका छन् । पुटिनले आफ्नो देशको विदेश मन्त्रालयलाई जारी गरेको विज्ञप्तिमा रुसी कुटनीतिज्ञहरूको प्रशंसा गरेका छन् ।
उक्त वक्तव्यमा पुटिनले भनेका छन्, 'हाम्रो कुटनीतिले रूसी नागरिक र विदेशमा रहेका देशबासीहरूको वैध अधिकारको रक्षा गर्न मद्दत गर्दछ, क्षेत्रीय द्वन्द्व र संकटको समाधानमा योगदान पुर्याउँछ, र सबैभन्दा महत्त्वपूर्ण कुरा, देशको प्रगतिशील विकासको लागि अनुकूल बाह्य अवस्था सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।'
यस्तै उनले युक्रेनमा बढ्दो तनावको बिषयमा विश्व बढी अशान्त र तनावपूर्ण हुँदै गइरहेको बताएका छन् ।
यसका लागि उनले संयुक्त राज्य अमेरिका र त्यसका नेटो सहयोगीहरुबाट कानुनी रुपमा रुसी सुरक्षा ग्यारेन्टी हुनु पर्ने माग गरेका छन् ।
पुटिनले उक्त वक्तव्यमा अघि भनेका छन्, 'रणनीतिक स्थिरता सुनिश्चित गर्न र सम्भावित खतराहरू र चुनौतीहरूको सामना गर्न थप प्रयासहरू निरन्तर आवश्यक छ, सबैभन्दा पहिले, संयुक्त राज्य अमेरिका र यसका नेटो सहयोगीहरूबाट हाम्रो देशको लागि व्यापक, कानुनी रूपमा लागू हुने सुरक्षा ग्यारेन्टीहरू खोज्नु पर्छ ।'
पुटिले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको वार्ताका क्रममा युक्रेनलाई नेटो संगठनमा आवद्ध नगराउन माग राखेका थिए । रुसलाई सुरक्षा खतरा हुने भन्दै पुटिनले नेटो यस्तो माग राखेका छन् ।
यसबीच युनाइटेड किंगडम (युके) का विदेशमन्त्रीले युक्रेनमाथिको आक्रमण रुस, युक्रेन र युरोपका लागि विनाशकारी हुने भन्दै चेतावनी दिएका छन् ।
'युक्रेन युद्ध रुसी र युक्रेनी जनता एवं युरोपेली सुरक्षाका लागि विनाशकारी हुनेछ । र नेटोले समेत कुनै किसिमको घुसपैठले ठूलो परिणाम निम्त्याउने र गम्भीर मूल्य चुकाउनुपर्ने कुरा स्पष्ट गरिसकेको छ', युकेकी विदेशमन्त्री लिज ट्रसले मस्को भ्रमणको क्रममा आफ्ना रूसी समकक्ष सर्गेई लाभरोभलाई भनेकी छन् ।
फ्रान्सका विदेशमनत्री जीन यभेस ले ड्रियानले बर्लिनमा भएको छलफलबाट पूर्वी युक्रेनको द्वन्द्वमा रुसले चारतर्फी कूटनीतिक वार्ता जारी राख्न इच्छुक हुनु सकारात्मक संकेत भएको बताएका छन् ।