arrow

पूर्वमन्त्रीले भने –मातृभूमिको ऋण तिरिन, मलाई राज्यले दण्ड दियोस्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
hari-pandey.JPG

काठमाडौं । आफू मन्त्री हुँदा ‘घुस खाएर धन आर्जन गरेको, मातृभूमिको भारा नतिरेको र आफू समाजमा प्रतिष्ठित हुँ’ भनेर हिँडेकोमा सरकारले दण्डित गर्नुपर्ने भन्दै पूर्वमन्त्री हरि पाण्डे मिडियामा आएका छन् । 

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उद्योगपतिसमेत रहेका पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तामेलीमा रहेको आफ्नो मुद्दा पुनर्जीवित गरेर कारबाही गरेमा आफू जेल जानसमेत तयार रहेको स्पष्ट पारेका हुन् ।

पूर्वमन्त्री पाण्डेले बारम्बार आफू दोषी हुँ र मलाई दण्डित गरियोस् भन्दा पनि आफूलाई सरकारले कुनै कारबाही नगरेको टिप्पणी गरे । पूर्वमन्त्री पाण्डेले १९ वर्षअघि पनि रिपोर्टर्स क्लब नेपालमा आएर आफूलाई दण्डित गर्न माग गर्दै कालो पट्टी बाँधेको स्मरण गराए । 

पहिलो पटक भारतले २०४५ सालको अन्तमा लगाएको आर्थिक नाकाबन्दी पछि आफुले विश्व बैङ्कमा अकरुण तेस्रोको बारेमा वार्ता गरेको उनले सुनाए । आफुले पछिल्लो समयमा सकेसम्म राष्ट्रिय उत्पादन र सस्तो सामाग्री प्रयोग गर्दै आएको पनि बताए । 

उनले भने, ‘मैले सम्पत्ति आर्जन गर्न अरूलाई घुस दिएको हो, जे आर्जन गरेँ त्यसको केही मातृभूमिलाई दिनुपर्ने थियो त्यो दिएको छैन, त्यति हुँदा पनि म प्रतिष्ठित भएर यो समाजमा हिँडिरहेको छु । मलाई राज्यले दण्ड दिनुपर्छ । म जेल जान पनि तयार छु ।’

उनले १९ वर्ष अघिको घटना स्मरण गराउँदै आफूले कास्की प्रहरीमा दण्ड गर्न आग्रहसहितको निवेदन दिएको सुनाउँदै भने, ‘कास्की प्रहरीले केही नगरेपछि म अख्तियारमा गएँ र दण्डित गर्न आग्रह गरेको थिएँ । अख्तियारले मेरो मुद्दा तामेलीमा राख्यो । तर कुनै फैसला गरेन । अख्तियारले तामेलीमा राखेको मुद्दा फेरि पुनर्जीवित गराउन यही क्लबमार्फत आग्रह गर्दछु ।’ 

नेपाली नागरिकको हैसियतले मातृभूमिलाई दिनुपर्ने तर नदिएको हिस्सा फिर्ता दिन चाहेको भए पनि आजसम्म सरकारले लिन नचाहेकोमा पाण्डेले आश्चर्य प्रकट गरे । उनले भने, ‘त्यो रकम आज पनि सुरक्षित छ । आज पनि सरकारले मागेमा म दिन तयार छु ।’

पाण्डेले २०५९ सालमा अख्तियारको तामेलीमा भएको केस उल्टाएर आफूलाई कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग पटक–पटक आग्रह गरे । उनले आफूलाई धेरैले बौलाएको आरोप लगाए पनि त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारे । 

अख्तियारले पुरानो फाइल उल्टाइदिएमा आफू निकै खुशी हुने पनि सुनाउँदै उनले भने, ‘मलाई अख्तियारले कारबाही गरोस्, जेल हालोस् । अख्तियारले मलाई कारबाही हुँदा खुशी हुने थिएँ ।’

दण्ड इच्छानुसार परिवारबाट अलग रहने, स्वास्थ्योपचारबाहेक अन्य समयमा विदेश नजाने र सबै भक्तजनहरू जान नमिल्ने मन्दिरमा प्रवेश नगर्ने पनि उनले स्पष्ट पारेका छन् । 

पाण्डेले ३ करोड रुपैयाँबाट ६ सय विद्यार्थीहरूलाई आफूले छात्रवृत्ति दिइरहेको पनि जानकारी दिए । स्वास्थ्यले साथ दिएमा परिवारदेखि आफू करिब १ वर्ष टाढा बस्ने पनि उनले स्पष्ट पारे । परिवारबाट टाढा भएर भिक्षाटनमा बस्न खोजेको तर पलायन हुन नचाहेको उनको स्पष्टोक्ति थियो । 

उनले आफू गरिब नेपाली भएर मर्न नचाहेको पनि बताए । उनले आफ्ना ५ जना छोरीहरू मेडिकल डाक्टर र एक छोरा इन्जिनियर भएकोसमेत जानकारी दिए । 

आफू मन्त्री भइसकेको व्यक्ति भएकोले सामाजिक र आर्थिक हिसाबले पनि आफू गरिब नभएको उनको दाबी छ । उनले भने,‘ मैले अहिले पनि ७–८ वटा कम्पनी चलाएको छु, म धनी मान्छे हुँ ।’ तर गरिबमाराको रूपमा आफ्नो पहिचान स्थापित भएको भन्दै त्यो पहिचानलाई भने मेटाउन चाहेको पूर्वमन्त्री पाण्डेले बताए ।

नेपालको गरिबी मुक्तिको सम्भावना रहेको भन्दै उनले आफूले गरिबको मुक्तिको लागि पुस्तक पनि लेखेको सुनाए । उनले आफू अब राजनीतिभित्र प्रवेश नगरेर पनि नेपालको विकासको निम्ति लागिपर्ने बताए । 

पाण्डेले आफूले नेपाल इन्जिनियरिङ कलेजको एक पैसा पनि नखाएकोसमेत स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ