arrow

प्रधानमन्त्री देउवा ओली निवास बालकोटामा पुगेपछि गठबन्धनमा तरङ्ग, एमसीसीमा साथको आश  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
deuba-oli-arzu.jpg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न सघाउन आग्रह गरेका छन् । सत्ताधारी दलहरुको गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा पत्नी डा. आरजू राणा देउवासँगै ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् । 

सत्ताधारी गठबन्धनबीच बिहीबार साँझ भएको छलफल सकारात्मक नभएपछि शुरुआती अवस्थादेखि नै एमसीसी पारित गर्न लागिपरेका देउवाले संसदमा एमसीसी पेश गरेका ओलीको साथ खोज्दै बालकोट पुगेका हुन् । 

एमसीसी संसद्‍मा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा आ–आफ्नै अडानमा भएसँगै समस्यामा परेका देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । 

ओली पनि शुरुआतदेखि नै एमसीसी पारित गर्नुपर्नेमा सकारात्मक छन् । तर उनले सत्ताधारी गठबन्धनको निचोड आएपछि मात्र आफ्नो पार्टीले निर्णय गर्ने बताउँदै आएका छन् । 

ओलीलाई देशको गम्भीर मुद्दामा पर्ख र हेरको अवस्थामा रहन नहुने भन्दै एमालेभित्रैबाट समेत बोल्नका लागि दबाब आइरहेको छ । 

बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेश हुन नसकेको अवस्थामा शुक्रबारको बैठकमा पेश हुने सम्भावना छ । तर त्यसअघि बिहान १० बजे सत्ताधारी गठबन्धनको बैठक पुनः बस्दैछ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्नमा इच्छा नदेखाएपछि देउवा दबाबमा छन् । 

उनीहरुलाई सरकारमा रहने नैतिक आधार नभएको भन्दै दबाबसमेत आउन थालेको छ । स्रोतका अनुसार एमसीसी पारित गर्ने हो भने स्थानीय तहको चुनावसमेत सार्नुपर्ने दबाब प्रचण्ड–नेपालले दिइरहेका छन् । 

अर्कातर्फ पहिले चुनाव त्यसपछि एमसीसी पारित गर्ने भन्दै अमेरिकासँग समय माग्नसमेत उनीहरुले माग गरेको बुझिएको छ । तर देउवा भने यथासमयमै एमसीसी पारित र चुनाव पनि यथासमयमै हुनुपर्नेमा देखिएका छन् । 

यो परिस्थितिबीच गठबन्धनमा गडबडी आउँदा प्रमुख प्रतिपक्षको हैसियतले एमालेलाई फाइदा हुने देखिएको भए पनि राष्ट्रिय मुद्दामा भने मिलेर अगाडि बढ्नुपर्नेमा देउवाको जोड छ । 

देउवाले राष्ट्रिय मुद्दामा विरोध गर्नुपर्ने बेलामा समेत नैतिकता देखाउँदै केपी ओली प्रधानमन्त्री भएका बेलामा पनि साथ दिएका थिए । एमसीसीसमेत देशको भविष्य जोडिएको एजेन्डा भएकाले यसमा मिलेर अगाडि बढ्नु पर्नेमा देउवाको ओलीलाई आग्रह रहेको बुझिएको छ । 

यसअघि बुधबार साँझ बसेको एमालेका उपलब्ध पदाधिकारीहरुको बैठकले देउवालाई प्रचण्ड र नेपाल मिलेर अप्ठेरोमा पारेको निष्कर्ष निकालेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ