arrow

माओवादीले पटक पटक दिएको धोकाबाट काँग्रेसले कहिले सिक्ने पाठ ?

logo
प्रकाश लामिछाने,
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
prakash-lamichane.jpg

नेपाली काँग्रेसलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पटकपटक धोका दिएको इतिहास साक्षी छ । माओवादी र काँग्रेस दुई अलगअलग ध्रुवका राजनीतिक दलहरु मात्र नभइ द्वन्द्वकालमा एकअर्काका सबैभन्दा ठूला शत्रु थिए । यद्यपि परिस्थिति बदलियो र माओवादीलाई नेपाली काँग्रेस र नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले नै शान्तिपूर्ण राजनीतिक यात्रामा आउन सहजीकरण गरे । 

तर ‘जुन थालमा खायो त्यसैमा आची गर्ने’ भन्ने नेपाली उखानलाई राजनीतिक रुपमा ‘उपयोगितावादको सिद्धान्तअनुसार ढालेर प्रचण्डले काँग्रेसलाई ठूलो क्षति हुने गरी तीन वटा महत्वपूर्ण धोका दिए । यद्यपी माओवादीसँग काँग्रेसले सहकार्यसमेत गर्दै आएको छ।

धोका नं १– 
काँग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने वचन तोडेर प्रचण्डले धोकाको यात्रा शुरु गरेका थिए । ठूलो दल हुनुको घमण्ड देखाउँदै प्रचण्डले आफ्नो पूर्व मौखिक वचनबाट चुक्दै कोइरालालाई राष्ट्रपति बनाउन अनिच्छा देखाए । यद्यपि उनले यसबारेमा कोइरालाको निधनपछि आफूलाई पछुतो लाग्ने गरेको बताएर गोहीको आँशु चुहाउँदै आएका छन् । 

धोका नं २– 
२०७४ सालको निर्वाचनअघि काँग्रेससँगै सत्ता साझेदारी गरिरहेको र स्थानीय तहको निर्वाचनमा समेत तालमेल गरिरहेको अवस्थामा एमालेसँग अचानक गठबन्धन गरेर माओवादीले काँग्रेसलाई दोश्रो ठूलो धोका दियो । जुन कुराको सत्ता साझेदारी गरिरहेको काँग्रेसले सुइँकोसमेत पाउन सकेन । सो गठबन्धनले नेकपाले झण्डै दुई तिहाई ल्यायो भने काँग्रेस सत्ता बाहिर बस्नु पर्यो । काँग्रेस सभापति शेरबहादुर देउवाले सो समयमा सबैभन्दा बढी आलोचना खेप्नुपर्यो । 

धोका नं ३–
यसपालि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव संसदमा पेश गर्न मौखिक सहमति गरेर प्रधानन्यायाधीश विरुद्ध महाभियोग प्रस्तावमा हस्ताक्षर गर्न काँग्रेस सांसदहरुलाई उक्सायो । महाभियोग प्रस्ताव संसदमा दर्ता भएपछि अन्तिममा एमसीसी सम्बन्धी प्रस्तावबाट पछि हटेर फेरि उसले काँग्रेसमाथि राजनीतिक बेइमानी र धोका दिएको छ ।

यति हुँदाहुँदै पनि काँग्रेस चेत्नेवाला छैन । द्वन्द्वकालमा मारिएका १७ हजार र बेपत्ता पारिएका ३ हजार एवं विस्थापित बनाइएका लाखौं नागरिकहरुमध्ये सबैभन्दा बढी काँग्रेस समर्थक र उनका परिवारहरु नै हुन् । यसको मुख्य जड माओवादी हो भन्ने जान्दाजान्दै आफ्ना समर्थकलाई पीडा दिएर माओवादीसँग लगनगाँठो जोड्न खोज्दा काँग्रेसले पटकपटक धोका मात्र पाएको छ । यो कुरा नेतृत्वलाई कसले र कहिले बुझाउने हो ?



नयाँ