arrow

अमेरिका सर हँसाउने क्या !!

logo
शिवप्रसाद पोखरेल, 
प्रकाशित २०७८ फागुन ७ शनिबार
shiva-prasad-pokharel-byanga-1.jpg

अमेरिकाले कति दिन खोज्या हो त्यो सबै पैसा हाम्रा देशका पार्टीलाई साइज हेरेर बाँडिदिए हुन्थ्यो । हामी चुनावमा जाँदैछौं र कसले जित्दा देश जोगाउन सकिन्छ भनेर फैसला गर्दैछौं । 

देश जोगाउन र देश विकास गर्नका लागि हामीले गरेको योगदान देखेर भगवाननै चकित परेका होलान् । 

धेरै लडेर रक्षा गरेको हाम्रो देशमा अब खासै विकास गर्नु पर्ने केही देखिंदैन । 

अलि–अलि गरिब छन् । तिनको पनि अर्को चुनाव पछि गरिबी शब्द नै हटाइदिने विचारमा छौं । 

सबै पार्टी मिलेर नै देशलाई आजसम्म जोगाएका हौं । 

विकासकै कुरा गर्ने हो भने काठमाडौंको धरहरा, रानीपोखरी आदि उदाहरणहरु छँदैछन् । 

सम्पन्न हुन नभ्याएका केही मात्र बांकी छन् । धेरै गरिसक्यौं र गर्न सक्छौं भन्ने प्रमाणित गरेको सबैलाई थाहा भएकै कुरा हो । 

केही नबुझेकाहरु हामीलाई देखेर हाँस्छन् । 

विद्युतको तार झुण्ड्याउनका लागि केको अमेरिका नै आउनु पर्छ र ? 

उस्तै परेमा हाम्रै देशका दाजुभाइ मिलेर निःशुल्क बाँसको पोल गाडेर तार हाल्न सक्छौं ।

विगतमा हामीले धेरै बाँसका पोलमा तार झुण्ड्याउने कामको थालनी गरेर हाल फलामे पोलसम्मको विकास आफैँले गरिसकेका छौं । 

यस्तो सानोतिनो कामका लागि हामीलाई खासै सहयोगको पनि आवश्यक छैन ।

सबै हामी गर्न सक्छौं। केही नबुझेकाहरु मात्र हामीलाई देखेर हाँस्छन् !

विकासको काम भनेपछि वल्लो गाउँ र पल्लो गाउँ कहिल्यै मिलेको उदाहरण छैन ।

सीधा जानु पर्ने बाटो कस्को आँगनमा परेन भनेर नालीबेली आकारमा बनाउनका लागि लाठी लिएर नै निस्कन्छौं । 

हामी बहादुर हौं भन्ने कुरा धेरैलाई थाहा नभएको हुन सक्छ । नबुझेका मात्र हाँस्छन् तर हामी हाँस्न हुँदैन भन्छौं !

त्यो अमेरिकाको ठूलो पोल गाड्नका लागि सार्वजनिक जग्गामा जंगल रहेछ भने सरकारले काट्न दिंदैन ।

पहिला–पहिला सरकार एउटा मात्र थियो । तर आजकल बल भएका सबै लाठेहरुको सरकार छ । 

र तिन्ले सजिलै काम गर्न दिने छैनन् । 

वल्लो गाउँ एकखाले कम्पनीका मानिस, पल्लो गाउँमा अर्कै खाले कम्पनीका कारिन्दा बसोबास गरेका छन् । 

त्यो बाटो छिचोल्नका लागि प्रलय हुनेछ। 

ठूला पोल गाड्न नदिएर कुलमान सरलाई त यहाँ गाह्रो बनाएका छन् । 

कुलमान सर पनि हाँस्दै हाँस्नु हुन्न ।
  
अमेरिका सर ! हाम्रो देशको संसदबाट नै पारित भएको संविधान राम्रोसँग मान्ने कुन नेता, कर्मचारी, जनता देख्नु भएको छ र त्यहीँबाट एमसीसी पारित गर्न खोज्नु भएको ? 

तपाई अमेरिका पनि अलि हँसाउन खोज्नु हुन्छ !! 

अमेरिका सर पनि हाँसीमजाक चाहिं खुबै गर्नु हुन्छ क्या !!



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ