- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लेखनाथ । पोखरा महानगरपालिका अन्तर्गतको गण्डकी बहुप्राविधिक शिक्षालयको भवनको शिलान्यास भएको छ । पोखरा महानगरपालिका वडा नं. २९ र ३० को खल्याणमा निर्माण हुने भवनको संघीय सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दिपक कोइराला र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिलन्यास गरेका हुन् ।
कार्यक्रममा संघीय सांसद खगराज अधिकारीले प्राविधिक शिक्षा हासिल गरेका जनशक्ति विश्वको जुनसुकै मुलुकमा पुगे पनि खपत हुने बताए । उनले गुणस्तरीय शिक्षामा जोड दिन गण्डकी वहुप्राविधिक शिक्षालयलाई आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले तोकिएकै समयमा निर्माण कार्य सक्ने कन्टयाक्टरलाई आग्रह गरे । सांसद कोइरालाले नतिजा र व्यवहारिक शिक्षाबाट नै मुलुकको समृद्धिमा सहयोग पुग्ने उल्लेख गरे ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले भवनले महानगरपालिकाले प्राविधिक शिक्षामा दिएको जोडको एउटा सपना साकार हुने बताए । उनले प्राविधिक शिक्षालयबाट स्थानीय सबैभन्दा बढी लाभान्वित हुने उल्लेख गर्दै त्यसको सदुपयोग गर्न आग्रह गरे ।
११ करोड ४२ लाख रुपैयाँको लागतमा बन्ने तीन तले भवन २०७९ सालको फागुन भित्र सम्पन्न हुने छ । भवन निर्माणको जिम्मा भूमि इन्फास्ट्रक्चर प्रा.लि विराटनगरले पाएको छ । निर्धारित समयमै काम सम्पन्न गरेर हस्तान्तरण गरिने प्रोजेक्ट इन्जिनियर माधव कार्कीले जानकारी दिए ।
प्राविधिक शिक्षालयले अहिले पोखरा २९ मा रहेको जनप्रकाश उच्च माविसँग सहकार्य गरेर विभिन्न विषयमा अध्यापन गराउँदै आएको छ ।
शिक्षालयका कार्यकारी निर्देशक लक्ष्मण तिमिल्सेनाले प्राविधिक शिक्षालयले अहिले शिभिल, मेकानिक्स लगायतका विषयमा कक्षा संचालन गरिरहेको उल्लेख गर्दै, भवन निर्माण सम्पन्न भैसकेपछि नर्सिङ लगायतका बिषयमा पनि अध्यापन गराईने बताए ।