arrow

एमसीसीमा सघाउन एमालेको सर्त, केपी ओलीले गृहमन्त्री खाँणसँग भने –पहिले एमालेलाई न्याय दिनोस्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
kp-sharma-oli--udayepur-news.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन् । एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बुधबार बिहान बालकोट पुगेका खाँणलाई ओलीले सो सन्देश दिएका हुन् । 

‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो’, एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाँईले भेटवार्ताबारे भने, ‘अध्यक्षज्यूले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’ 

प्रतिनिधि सभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने सरकारको तयारी रहेको छ ।

सत्ताधारी पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेसमात्र रहेको छ । बाँकी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् । 

एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाएका हुन् । मंगलबार ओली आफैं प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । 

‘संसदको सबैभन्दा ठूलो दल एमालेमाथि अन्याय भएको छ । कानून सबै दललाई समानरुपमा लागू गर्नुपर्नेमा त्यो गरिएन । हामीलाई न्याय दिनोस्, अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौं’, ओलीले गृहमन्त्री खाँणलाई भनेका छन् । 

एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई हटाउन माग गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका १४ सांसदलाई हराएको सूचना नटाँसेको भन्दै सभामुखलाई नै हटाउनु पर्ने पक्षमा एमाले छ । 

एमालेले आफूले कारबाही गर्न नसक्ने हो भने पदबाट राजीनामा दिन पनि सभामुख सापकोटालाई सुझाव दिएको छ । एमालेले कारबाही गरेका १४ सांसदबाट नेकपा एकीकृत समाजवादी बनेको हो । 

सभामुखलाई हटाउन सघाउन पनि एमालेले कांग्रेससँग आग्रह गरेको छ । 

एमसीसी जस्तो देशको प्रतिष्ठा जोडिएको गम्भीर विषयलाई बार्गेनिङको माध्यम बनाएर एमाले गैरजिम्मेवार भएको आरोपसमेत लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ