arrow

भैरव पुरस्कार लुँइटेललाई, ग्वंगलाई वाङ्मय, भौकाजीलाई प्रतिभा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
274095067_522056189514334_6451579161386875157_n.jpg

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारहरू शुक्रबार वितरण गरिएको छ । भैरव पुरस्कार गुठीले राजधानीमा गरेको कार्यक्रममा गुठीका अध्यक्षसमेत रहेका वरिष्ठ साहित्यकार रोचक घिमिरेले २०७८ सालको भैरब पुरस्कार व्यङ्ग्यकार नरनाथ लुँइटेललाई प्रदान गरे । 

यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । पहिलो पटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरियो । १ लाख १ हजार १ सय ११ रुपैया राशिको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारिता लगायतको क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई अब बर्सेनि प्रदान गरिने गुठीका अध्यक्ष घिमिरेले जानकारी दिए । 

त्यस्तै ५१ हजार १ सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरियो । कार्यक्रममा पुरस्कृत स्रष्टाहरू क्रमशः ग्वगं, लुँइटेल र भौकाजीको योगदान बारेमा क्रमशः श्रीओम श्रेष्ठ रोदन, डाक्टर रमेश शुभेच्छुक र दिव्य गिरीले प्रकाश पारेका थिए । 

पूर्वमन्त्री तथा प्रदेश सभासद् रामेश्वर फुयाल तथा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले समृद्ध साहित्यले समन्नुत समाज निर्माणमा सहयोग गर्ने भएकाले साहित्यको विकासका लागि मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता जनाए । 

सोही अवसरमा ‘सम्झना भैरव स्मृतिग्रन्थ’ को विमोचन गरिएको थियो । विमोचित कृतिको समीक्षा गर्दै वरिष्ठ पत्रकार तथा गुठीका उपाध्यक्ष विजय चालिसेले नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रमा अर्यालको योगदान अतुलनीय रहेको बताए । 

कार्यक्रममा गुठीका सचिव वसन्त रिजालले गुठीका गतिविधिबारे प्रकाश पारेका थिए भने गुठीका सदस्यहरू प्राडा दीपक अर्याल, गोपाल बराल, उद्धव रायमाझी लगायतका वक्ताहरूले अर्यालको साहित्यिक योगदानबारे चर्चा गरे । 

यसैबीच गुठीको शुक्रबार सम्पन्न साधारण सभाले रोचक घिमिरेको अध्यक्षतामा गुठीको नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । गुठीको उपाध्यक्षमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्षमा अजीत नेपाल रहनु भएको छ । त्यस्तै सदस्यहरूमा बद्री अर्याल ,रश्मी शर्मा, गोपाल बराल, प्राडा दीपक अर्याल, उद्धव रायमाझी, गोविन्द घिमिरे ‘वेदमणि’, मेनका पोखरेल, घनश्याम प्रसाई र निर्मल अर्याल रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ