- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीचको बालकोट वार्ता विना निष्कर्ष टुङ्गिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा शनिबार साँझ सम्पन्न बैठकमा दुबै दलका नेताहरू आ–आफ्नै अडानमा अडिग रहँदा छलफल कुनै निश्कर्षमा पुग्न नसकेको बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
‘छलफलमा हामीले प्रतिनिधि सभा सुचारु गर्न आग्रह गरेका थियौं । तर, एमाले नेताहरूले पुरानै अडान दोहोर्याउनु भयो’, उनले भने । बैठकमा दुवै दलका दोस्रो तहका नेताबीच छलफल भएको हो ।
छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की सहभागी थिए ।
अहिलेसम्म अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका बारेमा दलहरुबीच सहमति बन्न सकेको छैन । आइतबारको बैठकमा एमसीसीबारे छलफल गर्ने सम्भावित कार्यसूची तय भएको भए पनि माहोल भने अझै बनेको छैन ।
एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग पूरा नभएसम्म संसद चल्न नदिने बताउँदै आएको छ ।
सत्ताधारी दलहरुबीच अझै एमसीसी पारित गर्नेबारे सहमति बनेको छैन । यद्यपि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने गठबन्धन नटुक्रयाइ सहमतिमा अगाडि बढ्ने बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमै अगाडि बढ्ने बताएका हुन् ।