arrow

कविताः धन्य मेरो समाज 

logo
सरू भट्ट (सरस्वती),
प्रकाशित २०७८ फागुन १४ शनिबार
saru-bhatta.jpg

झोला संगालेर विद्यालय जान नसक्दै 
समाजले वयस्क बनाइदियो 
जिम्मेवारी र जवानीको बोझ 
बाल मस्तिष्कमा खनाइदियो ।


सिंगान पुछ्न नसक्ने उमेरलाई 
कति राम्री भनाइयो 
बिहे गर्ने बेला भयो भन्दै 
जवानीको रंग थमाइयो ।


के थाहा त्यति बेला के गर्ने नगर्ने
छोरी हो बाहिर नहिँड भनाइयो 
सबै कुरा सुन्दा हुर्किए झैं लाग्यो 
सुन्दर सपना क्षण भरमा जलाइयो ।


न त्यो जवानीको मूल्य रह्यो 
आखिर घर न घाटको बनाइयो 
यही समाज हो इज्जतको मापन गर्ने 
बेमेल सम्बन्धलाई वैधानिक जनाइयो ।


बल्ल जवानी महसुस गर्ने बेला 
जिम्मेवारीको भारी बोकाइयो 
समाजको ठूलो अन्यायलाई 
भाग्यसँग लगेर ठोकाइयो ।


चुपचाप सहेका पलहरुलाई 
निरीह र चेतनाहीन जस्तै भयो 
न बच्यो बाँस न बज्यो बाँसुरी
अठोट र सपना खेरै गयो ।


के गर्दा हुने होला सधैं प्रश्न
बोल्यो बाठी नबोले घमण्डी 
निर्णय लिनै गार्हो कुन सही 
राम्रो बन्यो गिद्दे नजर 
नत्र पाखंडी ।


सधै निसास्सिएर बाँच्नु पर्ने 
समाजले दिएको न्यानो उपहार 
कहाँ खोजुँ खै म एक्लै 
लैंगिक समानताको आधार ?



नयाँ