- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । ‘महाशिवरात्री पर्व–विशेष ट्राफिक व्यवस्थापन योजना’ बमोजिमको सम्पूर्ण तयारी पूरा गरी सो अवधिभर खटिने प्रहरी अधिकृत तथा अन्य खटिने कमाण्डरहरुलाई ट्राफिक प्रहरीको भूमिका, ट्राफिक व्यवस्थापन गर्दा भक्तजन तथा दर्शनार्थीसँग गर्ने व्यवहार र पार्किङ्ग क्षेत्रमा गर्नुपर्ने सहजीकरणका बारेमा ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले ब्रिफिङ्ग गर्नुका साथै आवश्यक निर्देशनसमेत दिएका छन् ।
पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भीडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाएको छ । धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उनीहरुको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाइएको छ भने गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ्ग गर्ने स्थानहरुसमेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
अन्य नियमित दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरुको भीडभाड अत्यधिक भई सवारी संचालनमा समस्या हुने अवस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट संचालनको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एसएसपी जोशीले बताए ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भइ चक्रपथमा चल्ने यातायात संचालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क(गौशाला(तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गबाट सवारी संचालनको व्यवस्था मिलाइनेसमेत एसएसपी जोशीले जानकारी दिए ।
विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एव भक्तजनहरुका सवारी साधनहरुलाई सिफल चौर, गौरीघाट करिडोर, गुहेश्वरी, तिलगंगाको पार्किङ्ग र तिलगंगा करिडोरमा पार्किङ्गको व्यवस्था मिलाएको छ ।
यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयभित्र कोष तथा पासबाहक सवारी साधन, गौशाला प्रहरी कार्यालयभित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारी साधन र वनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।
ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजीव शर्मा दासले गौशाला चोकमा भीडभाड धेरै भइ सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई संचालनको व्यवस्था मिलाइएको जानकारी दिए ।
उनले तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमती करिडोरबाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनहरुलाई सो खण्डमा निषेध गरी डाइभर्सनको प्रबन्ध मिलाइनेसमेत बताए ।
महाशिवरात्री पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि करिब नौ सय ट्राफिक प्रहरी परिचालन हुनेसमेत जानकारी दिए ।
ट्राफिक महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत अनुरोध गरेको छ ।