पशुपतिमा साधुसन्तको बिदाइ आज: ३८ लाख दक्षिणा बाँडिदै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
652
Shares
काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनका लागि आएका नागा बाबा र साधुसन्तहरूलाई आज दान-दक्षिणासहित बिदाइ गरिँदैछ। फागुन कृष्ण एकादशीका दिन आएका साधुसन्तलाई फाल्गुन कृष्ण औँसीका दिन गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्ने परम्परा छ।
विसं १८३१ मा जगनन्द प्रकाशेश्वर गुठी स्थापना भएदेखि सुरु भएको यो परम्परालाई निरन्तरता दिँदै यस वर्ष संस्थानले करिब ३० लाख र कोषले ८ लाख गरी कुल ३८ लाख रुपैयाँ बजेट दक्षिणाका लागि छुट्याएका छन्। संस्थानका पूर्वउपप्रशासक दीपकबहादुर पाण्डेका अनुसार साधुसन्तलाई उनीहरूको स्तर अनुसार ५ हजार १ देखि १०१ रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिनेछ।
पहिले साधुसन्तलाई थापाथलीस्थित कालमोचनघाटबाट बिदाइ गरिने प्रचलन थियो। कोत पर्वमा मारिएकाहरूको आत्माको शान्तिका लागि त्यसो गरिन्थ्यो, तर अहिले त्यो परम्परा हटेर पशुपतिकै पश्चिम मूल ढोकाबाट बिदाइ गर्न थालिएको कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले बताए। यस वर्ष करिब चार हजारभन्दा बढी साधुसन्त भारत र नेपालका विभिन्न स्थानबाट आएका छन्।
शिवरात्रि मेला सकिएसँगै पशुपति क्षेत्र फोहोरको डङ्गुरले भरिएको छ। करोडौँको सम्पत्ति र हजारौँ कर्मचारी भएको कोषले समयमै फोहोर व्यवस्थापन नगरेको भन्दै स्थानीय र दर्शनार्थीले आक्रोश पोखेका छन्। दर्शनार्थी लक्ष्मी शर्मा दाहालका अनुसार फोहोरको दुर्गन्धले गर्दा नाक थुनेर मन्दिर प्रवेश गर्नुपर्ने अवस्था छ। कोषका सदस्य सचिव डा. टण्डनले भने सफाइ सुरु भइसकेकाले बिहीबारसम्म पशुपति क्षेत्र पूर्ण रूपमा सफा हुने दाबी गरे।
पशुपतिमा नागा बाबा हेर्न आउनेहरूको निकै घुइँचो लागेको छ। विशेषगरी युवा र विद्यार्थीहरूमा नागा बाबाप्रतिको आकर्षण बढी देखिएको मन्दिरका पण्डित सुन्दर शर्मा कुइँकेलले बताए। भारतको वाराणसीबाट आएका स्वामी महेशानन्दले पशुपतिनाथलाई 'द्वादश ज्योतिर्लिङ्गको शिर' मानिने भएकाले आफू प्रत्येक वर्ष दर्शनका लागि आउने गरेको जानकारी दिए।