arrow

बाँके कांग्रेस सभापतिमा गौडेल र कुर्मीबीच सभापतिमा पुनः मतदान, हमाल बाहिरिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
banke-congress-goudel-hamal-kurmi.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको मतगणनामा कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको छ । बिहीबार साँझ भएको मतगणनामा संस्थापन इतरका नारायणप्रसाद गौडेलले ५६९ मत ल्याउँदै पहिलो भएका छन् भने उनका प्रतिद्वन्द्वी बादशाह कुर्मीले ५३८ मत ल्याउँदै दोस्रो नम्बरमा आएका छन् । 

त्यस्तै सभापतिका अर्का उम्मेदवार सुरेन्द्र हमालले ३१४ मत प्राप्त गर्दै तेस्रो स्थानमा आएका छन् । गौडेलले संस्थापन इतरबाट उम्मेदवारी दिएका थिए भने कुर्मी र हमालले संस्थापन समूहबाट उम्मेदवारी दिएका हुन् । संस्थापन समूहबाट उम्मेदवारी दिएका कुर्मी नेपाली कांग्रेसका सहमहामन्त्रीका उम्मेदवार हुन्  भने हमाल पार्टी सभापति शेरबहादुर देउवाका उम्मेदवार थिए ।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने भएका कारण बिहीबार भएको मतगणनामा पहिलो र दोस्रो हुने गौडेल र कुर्मीबीच पुनः मतदान हुने भएको निर्वाचन परिचालन कमिटीले जनाएको छ।

कुल १४ सय ९३ मत संख्या मध्ये १४ सय ४५  जना मतदाताले मतदान गरेकोमा २४ मत बदर भएको निर्वाचन कमिटीले जानकारी दिएको छ। 

सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न बिहान सवा ९ बजेदेखि अपराह्न ४ बजेसम्म  मतदान भएको थियो। 

निर्वाचन कमिटीको छलफलपछि  शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने जनाएको छ । 

अन्य पदको मतगणना सभापतिको पुनः मतदानको मतगणना पछिमात्र हुने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ