arrow

सर्लाही कांग्रेसमा बलराका दुवै वडामा सर्वसम्मत समिति चयन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
congress-flag2.jpg

सर्लाही । निकै लामो विवादपछि सर्लाहीको बलरा नगरपालिकाका दुईवटा वडामा बिहबिार नेपाली कांग्रेसको वडा अधिवेशन शान्तिपूर्वक सम्पन्न भएको छ । दुई पक्षबीचको विवादले क्षेत्र नं ४ मा पर्ने बलरा नगरपालिकाको वडा नं ८ गडहिया र वडा नं ९ अचलगढमा कांग्रेसको वडा अधिवेशन नै हुन सकेको थिएन । 

दुवै ठाउँमा गएको मंसिर १२ र १३ गते वडा अधिवेशन गराउन खोज्दा गोली नै चलेको थियो । झडपमा परी निर्वाचन अधिकृत, सुरक्षाकर्मी र पार्टीका नेता कार्यकर्तासमेत घाइते भएका थिए । झडप भएर वडा अधिवेशन नै रोकिएको त्यही ठाउँमा बिहीबार सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो । 

वडा समिति र वडाबाट छानिएर आउने क्षेत्रीय प्रतिनिधिमा दुवै पक्षले भागबण्डा मिलाएर वडा अधिवेशनको विवाद टुंग्याएका हुन् । वडा नं ८ गहडियामा संस्थापन इतर पक्षका छितनु साह वडा सभापति बनेका छन् । सो वडामा संस्थापन पक्षले ९ जना क्षेत्रीय प्रतिनिधि पाएको छ भने संस्थापन इतर पक्षले वडा सभापतिसहित ७ जना क्षेत्रीय प्रतिनिधि लिएको छ । 

यसैगरी वडा नं ९ अचलगढमा पनि संस्थापन इतर पक्षले नै सभापति लिएको छ । त्यहाँ वडा सभापतिमा प्रमोद चौधरी चुनिएका छन् । संस्थापन इतरले सभापतिसहित ४ जना क्षेत्रीय प्रतिनिधि लिएर १२ जना क्षेत्रीय प्रतिनिधि संस्थापन पक्षलाई दिएको छ । 

गडहीयास्थित इलाका प्रहरी कार्यालयको छेउँमै संस्थापन पक्षबाट प्रदेश सरकारका मन्त्रीसमेत रहेका नेता वीरेन्द्रप्रसाद सिंह र संस्थापन इतर पक्षबाट नेता कौशलकिशोर राय बसेर दुवै वडाको विवाद समाधान गरी भागबण्डा मिलाउँदै वडा अधिवेशन गराएका हुन् । 

त्यहाँ सहमति हुन नसके बिहीबारै उम्मेदवारहरुको मनोनयन दर्ता गराएर शुक्रबार मतदान गराउने तयारी थियो । बुधबार साँझ लालबन्दीमा सहायक निर्वाचन अधिकृत धीरेन्द्र चौधरीको रोहबरमा भएको छलफलमा २० गते बलराको दुई वटा वडाको मतदान गराउने सहमति जुटाएको थियो । 

सो सहमतिअनुसार २३ गते लालबन्दी वा मलंगवामा जिल्ला अधिवेशन हुने भएको छ । लालबन्दीमा गराउँदा जनज्योति मावि र मलंगवामा गराउँदा पब्लिक माविलाई मतदान स्थल बनाउने तयारी भइरहेको सहायक मतदान अधिकृत चौधरीले जानकारी दिए । 

कांग्रेस सर्लाहीको जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्रप्रसाद सिंह र संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण राय सभापतिको दाबेदार हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ