arrow

धनुषा कांग्रेस नेतृत्वमा त्रिपक्षीय भिडन्तः देउवा, शेखर र विमलेन्द्रका आफ्ना उम्मेदवार 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन १९ बिहिबार
dhanusha-congress-president-candidate-2078.jpg

जनकपुरधाम । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत धनुषा जिल्ला अधिवेशनको लागि बिहीबारबाट चुनावी प्रक्रिया शुरु भएको छ । जिल्ला अधिवेशनमा ३ हजार ५१ प्रतिनिधिले मत दिने छ । अधिवेशनमा ९१ पदका लगि ३ प्यानलको उम्मेदवारी परेको छ । 

संस्थापन पक्षबाट संतोषकुमार यादव, डा. शेखर कोइराला समूहबाट दिनेश परसैला यादव र विमलेन्द्र निधीको समूहबाट योगेन्द्र पजियार ‘जोगी’ ले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस धनुषा हाँक्ने गरी जिल्लामा ३ जना प्रभावशाली नेताले सभापतिमा उम्मेदवारी दिएका हुन् । संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापतिसमेत रहेका सन्तोष यादव, विमलेन्द्र निधी समूहबाट सभापतिका लागि क्षिरेश्वरनाथ नगरपालिकाका मेयरसमेत रहेका योगेन्द्र पजियार र  डा. शेखर कोइराला समूहबाट संविधानसभा सदस्यसमेत रहेका दिनेश परसैला यादवले उम्मेदवारी दर्ता गराएका हुन् । 


त्यस्तै, जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि गणेशप्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्रप्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिका निर्वाचन अधिकृत अरुण ज्ञवालीले बताए ।

यसैगरी सचिव पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धिरेन्द्र मोहन झा, शिवशंकरकुमार गोइत, दिपेन्द्रकुमार भडखेर र कन्हैयाकुमार कर्णले उम्मेदवारी दिएका हुन् ।

सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजयकुमार यादव र मो. साकिर राइनलगायत ६ जनाले उम्मेदवारी दिएको निर्वाचन अधकृत ज्ञवालीले जानकारी दिए ।

जिल्लामा नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको हो । निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचन समितिका अधिकृत अरुण ज्ञवालीले प्रदेश अधिवेशनमा अव्यवस्थितका कारण बदनाम भएका कारण धनुषा जिल्ला कार्यसमितिको निर्वाचनका लागि ७० जना निर्वाचन जनशक्ति सहित नेपालको नमूना अधिवेशन गराउने बताए । 

नेपाली कांग्रेस जिल्ला अधिवेशन मनोनयनको रौनकले स्थानीय निर्वाचनको ट्रेलर देखिएको छ। निर्वाचनको लागि परम्परागत छानिने गोपाल धर्मशालामा ठाउँको अभावका कारण तिरुतिया गाछिमा फागुन २३ गते निर्वाचन हुने भएको छ । 

उम्मेदवारीको भिन्नताले नेतृत्वमा दोस्रो चरणमा पुग्ने प्रवल सम्भावना रहेको छ। कांग्रेस जिल्ला निर्वाचन समिति धनुषाकाअनुसार बिहीबार उम्मेदवारी दर्ता र उम्मेदवारको नामावली प्रकाशन तथा शुक्रबार बिहान ९ देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता, ११ बजेदेखि १ बजेसम्म दाबी विरोध, १ बजेदेखि ३ बजेसम्म दाबी विरोधको छानबिन, ३ देखि ५ बजेसम्म अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।
 
त्यसैगरी शनिबार र आइतबार प्रचारप्रसार र २३ फागुन सोमबार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान र सोही दिन साँझ ७ बजेदेखि मतगणनाको कार्यक्रम तोकिएको निर्वाचन समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ