arrow

चितवन कांग्रेसको नेतृत्व चयन दोस्रो चरणको मतदानबाट, खनाल र श्रेष्ठबीच भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २१ शनिबार
congress-chitwan-president-fight-2078.jpg

चितवन । चितवनमा भइरहेको नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको निर्वाचनमा सभापतिका लागि दोस्रो चरणको मतदानबाट टुङ्गो लाग्ने भएको छ । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणबाट टुङ्गो लाग्ने भएको हो । 

पहिलो चरणको मतदानमा शीर्ष दुईमा रहेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणमा भिडन्त हुनेछ । २ हजार ९४५ मतदाता रहेकामा केबल २ हजार ८२० मत खसेको थियो । त्यसमध्ये १ सय २ मत बदर भएको थियो । 

सदरमध्ये शीर्ष स्थानका खनालले ७४६, दोस्रो स्थानका श्रेष्ठले ६६२, तेस्रो स्थानका उत्तम जोशीले ४७२, चौथो स्थानका सूर्यकान्त घिमिरेले ४२६ तथा पाँचौं स्थानका कैलाश कोइरालाले ४१२ मत पाए । 

दोस्रो चरणको मतदान मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म हुनेछ । 

अबको समीकरण 
अबको भिडन्त राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच हुँदै गर्दा उनीहरुको बीचको पहिलो चरणको नतिजाअनुसारको मतान्तर ८४ रहेको छ । 

अब भने बाँकी रहेका मत बाँडिने छन् । यसमा उत्तम जोशी, सूर्यकान्त घिमिरे र कैलाश कोइरालाको मत बाँडिने छ । 

अहिलेसम्म बनिरहेको समीकरण अनुसार जोशी र घिमिरेले खनाललाई सघाउने लगभग पक्काजस्तै भएको बताइन्छ । त्यस्तै कोइराला पक्षको मतसमेत खनाललाई आउने संकेत मिलेको छ । यो समीकरण बन्ने हो भने खनालको पल्ला भारी हुनेछ । 

अर्कातर्फ केन्द्रीय सदस्यहरु दिनेश कोइराला र चेतप्रसाद गुरुङले खनाललाई सहयोग गर्दैछन् । निवर्तमान हुँदै गरेका सभापति जितनारायण श्रेष्ठको सहयोग पनि  खनाललाई छ । यति यस्तो भयो भने खनालको पल्ला भारी हुने देखिएको छ । 

पूर्वमन्त्री शेषकान्त अधिकारीको मत पहिले कोइरालालाई गएकामा अब भने श्रेष्ठसँग सम्बन्ध बिग्रिएका कारण खनाललाई नै जाने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ