arrow

पापीहरु !!

logo
शिवप्रसाद पोखरेल, 
प्रकाशित २०७८ फागुन २१ शनिबार
274991755_1105314970289841_5047192567184856904_n.jpg

बिहान ४ बजेको समय । हामी बाउ छोरा लाइनमा उभिइसक्यौं । आज त अलि चाँडो भगवानले भेट दिनु हुनेछ भन्ने आशामा थियौं । 

हामी ५ बजेसम्म जहाँ उभिएका थियौं त्यहीँ खडा थियौं । ५ बजे पश्चात् लाइन अगाडि बढ्नेछ भन्ने आशामा थियौं । 

६ बज्दासम्म हामी एक सय मिटर भन्दा अगाडि बढ्न सकेनौं । हामीले सोच्यौं ७ बजेपछि लाइन अगाडि बढ्छ भनेर । 

८ पनि बजिसक्यो हामी तीलगंगाको पुल तर्न पाएका थिएनौं । 

हामीलाई लाग्थ्यो तीलगंगाको पुल तरेपछि लाइन चाँडो अगाडि बढ्ने छ भनेर । पुल पार गर्दा ९ बजिसकेको थियो । अब चाँडै अगाडि बढ्ने छौं र भगवानलाई एक पटक अनुहार देखाएर फर्किने छौं ।

हामी जति लाइनमा उभिएर रहे पनि १२ बजेसम्म हामी जहाँ उभिएका थियौं त्यहीँ नै । हामीले स्वयंसेवक भेटेको पनि पशुपतिनाथ परिसरभित्र पसेपछि नै हो । 

त्यस अगाडि पुलिस नामधारी १–२ जना नदेखेको हैन तर तिनको उद्देश्य भनेको आफ्ना हाकिमका लागि सहजीकरण गर्न र आफन्तको पशुपति भ्रमणका लागि सहजीकरण बाहेक अन्य केही भए प्रमाणित गरेर देखाओ पापीहरु !!

स्वयंसेवक नाम गरेका रंगी–चंगी कपडामा सजिएर उभिएका पनि हुलै थिए । यिनीहरुको काम भनेको अनुशासित रुपमा लाइनमा उभिएकालाई चर्को स्वरमा अगाडि सर्नुस्, खाली ठाउँ नराख्नुस् भन्नेमात्र देखियो । 

अनि कोही चाहिँ चिने जानेका आफ्नालाई स्वयंसेवक बिल्ला मिलाउने र ताल पारेर मन्दिरमा प्रवेश गर्नका लागि निकै प्रयासरत देखिन्थे । तिनको पनि त्यहाँ खासै आवश्यकता देखिएन ।

हामी बाउ–छोरा पानी पनि नपिइ निरन्तर जहाँको त्यहीँ लाइनमा उभिइरहेका थियौं । 

१२ बजे पश्चात १ बजे सम्ममा पदुवाहरुले डकार्दै, गाउँ बेसी कन्याउँंदै, वरिपरि सुर्ती, खैनी खाएर थुक्दै भगवानको नित्यपूजा गर्ने समय हो भन्ने सुन्यौं । 

त्यो खबर सुन्दा हाम्रो पनि धैर्यको सीमा पार हुँदै थियो । 

जब १ बज्यो लाइन अगाडि बढ्छ कि भन्ने आशामा नै थियौं ।

२ बजेसम्म भित्र पुगेमा ३ बजेतिर हामी फर्कन पाइन्छ भन्ने आशामा नै थियौं ।

मैले यो उमेरसम्म जानी–जानी कुनै पाप गरेको छैन । मेरो छोराको त गुणगान बाहेक केही पनि गर्न पर्दैन । 

हामी र हामी जस्तै अगाडि पछाडि उभिएर रहेका लाखौं व्यक्तिहरु पवित्र मनले भगवानलाई एक पटक हेर्नका लागि लामबद्ध हुँदै गर्दा कुनै एक जना ठूलो व्यक्तिले दर्शन गर्न आउने भन्दै अर्को एक घण्टा लाइनमा नै नाजवाफ पर्खनु पर्ने भन्ने थाहा भयो । 

त्यो पनि कुनै आधिकारिक स्थानबाट खवर आएको हैन । आधिकारिक खवर दिने संयन्त्र कहीँ कतै थिएन ।

जे थियो जन्मनै नमिल्नेहरु जन्मिएर उनीहरु मात्र लाखौं आवाजविहीनहरुलाई कष्ट दिएर भगवानलाई हेर्न आतुर थिए । 

हामीलाई बाधा अड्चन थप्न र हामीलाई पीडा दिने कोही यस देशको के–पति  नाम, के उप–पति नाम, मन्त्री नाम, हाकिम नाम अनि, सरकारी उच्च कर्मचारी नाम, पुलिस नाम, आर्मी नाम, अनि के नाम र अनेक थरी नामहरुलाई पशुपतिनाथको श्राप लागोस् ।

हामी दिउँसो ३ बजेसम्म पनि एकै ठाउँमा हुँदा छोराले सोध्यो ‘बाबा अब त धेरै नै गाह्रो भयो, कति उभिनु पर्ला ?’

छोराले सोध्दा मसँग कुनै जवाफ थिएन र भनेँ हामी घर फर्कने भन्ने सल्लाह भयो । 

वर्षको एक दिन हामीलाई भगवान हेर्नका लागि पनि कहीँबाट सहयोग भएन ।

हामी धेरै चित्त दुखाएर घर फर्कियौं । हामीलाई दिएको कष्टको हिसाब र हामीलाई भगवानबाट दूर गराउनेका लागि सबैभन्दा ठूलो श्राप लागोस् । 

यो देशमा पुलिस, कर्मचारी स्वयंसेवक, के– के पति अनि मन्त्री, नामधारी नकारात्मक सोच भएका कसैको पनि आवश्यकता देखिएन । पापीहरु सबैलाई श्राप लागोस् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ