- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कावासोती । नेपाली कांग्रेस नवलपुरको जिल्ला सभापतिमा महेन्द्रध्वज जीसी सर्वसम्मत भएका छन् । शुक्रबार मनोनयन समय सकिन केही समय अगाडि अर्का उम्मेदवार बालकृष्ण घिमिरेले उपसभापति पदमा मनोनयन गर्ने गरी सहमति भएसँगै सभापति पदमा जीसी सर्वसम्मत चयन भएका हुन् ।
जीसी निर्विरोध हुनु पछाडि उनको राजनीतिक उचाइले काम गरेसँगै यसको पृष्ठभूमिमा जिल्लाबाट राजनीति गर्ने प्रभावशाली नेताहरुको भूमिका पनि त्यत्तिकै छ। खासगरी उद्यमी तथा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको भूमिका उल्लेखनीय मानिएको छ । त्यस्तै नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला र विष्णु कार्कीको भूमिका पनि देखिएको थियो ।
नवलपुर कोइरालाको निर्वाचित क्षेत्र भएको जिल्ला हो भने कार्की त्यहीप्ँबाट स्थानीय राजनीति गर्दै आएका नेता हुन् । उनी यसअघि सांसदसँगै केन्द्रीय सदस्यमा प्रत्यासी पनि थिए ।
स्थानीय तहको चुनावअघि जिल्ला नेतृत्व सर्वसम्मत गराउँदा नै त्यसको सन्देश राम्रो जाने आँकलन पछि चौधरी सर्वसम्मत बनाउन लागिपरेका थिए । चौधरीको समन्वयकारी भूमिका जिल्ला हुँदै केन्द्रीय तहमा समेत अहिले चर्चाको बिषय बनेको छ।
नवलपुरमा रहेको आफ्नो उद्योगहरुमा सक्रिय हुँदै अन्य सामाजिक काममासमेत भिजेका चौधरी केही वर्षअघि संविधानसभा सदस्यको रुपमा राजनीतिमा प्रवेश गरेका थिए । प्रत्यक्ष राजनीतिमा प्रवेश गरे पनि स्थानीयस्तरको राजनीतिमा प्रत्यक्ष नदेखिने चौधरी २०७४ सालको चुनावदेखि भने खुला रुपमा सक्रिय रहँदै आएका छन् ।
त्यस समयमा उनले नवलपुरका अतिरिक्त अन्य कैयन जिल्लामा चुनावी सभाहरुमा स्टार प्रचारकको रुपमा सम्बोधन गरेका थिए। उनको लोकप्रियता उनी गएको स्थानमा उनीसँग सेल्फी खिच्न आउनेहरुको संख्याले पनि देखाउँथ्यो। त्यसो त सामाजिक संजालमा धेरै फलोअर भएका नेपालका थोरै नेताहरुमा नै पर्छन् चौधरी ।
उद्योग व्यवसाय क्षेत्रमा काम गर्दा आर्जन गरेको साख र नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएसँगै यतिखेर भने उनले आफ्नो भूमिका पनि बढाउँदै लगेका छन्। समन्वयकारी रुपमा उनको बढ्दो भूमिका यो पटक नवलपुर कांग्रेसको अधिवेशनमा पनि प्रष्टै देखियो। खासगरी पार्टीको जिल्ला नेतृत्व सर्वसम्मत बनाउँदा त्यसको सकारात्मक प्रभाव स्थानीय राजनीतिमा कसरी पर्छ भन्ने कुराको भलिभाँती जानकार रहेका चौधरीले जीसीको पक्षमा सबैलाई उभिने वातावरण बनाउन भूमिका खेल्दा उनी सर्वसम्मत भए । पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका चौधरीले जीसीलाई सर्वसम्मत बनाउन खेलेको भूमिका यतिखेर चर्चामा छ ।
चौधरीले आगामी तीन तहको चुनावलाई मध्यनजर गर्दै नवलपुरमा जिल्लातहका नेताहरुसँग घनिभूत छलफल चलाएर सर्वसम्मतको वातावरण बनाएका थिए। केन्द्रमा पनि नेताहरुसँग समन्वयकारी भूमिका खेले । सभापति देउवासँगै अन्य पदाधिकारीहरुलाई पनि मनाएको चौधरीसँगै ती बैठकहरुमा सहभागी स्थानीय नेताहरु बताउँछन् ।
चौधरीले जिल्लाका नेताहरुलाई समन्वयकारी भूमिका निर्वाह गरेरै यो परिणाम आएपछि चौधरीको भूमिकाको जिल्लामा सराहना गरिएको छ । जीसीको जितलाई चौधरीको सम्बन्धबाटै सम्भव भएको स्थानीय नेताहरु नै बताउँछन् । जीसीलाई सर्वसम्मत गराएसँगै चौधरीले आफ्नो राजनीतिक छविलाईसमेत फराकिलो बनाउँदै लगेको विश्लेषण गरिएको छ ।
चौधरीले केन्द्रमा पार्टी सभापतिदेखि अन्य पदाधिकारीसँग समन्वय गर्ने तथा जिल्लामा पनि स्थानीय नेताहरुसँग सम्पर्कमा रहेर खेलेको भूमिकाले उनको राजनीतिक स्वीकारोक्तिसमेत बढ्दै गएको विश्लेषण गरिएको छ ।