arrow

कांग्रेसका १६ मध्ये आठ जिल्ला नेतृत्वको टुङ्गो, पाँचमा आज मतदान, तीनको यसैसाता सकिने  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
congress-flag-final-final.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिरमै सकिएको भए पनि जिल्ला अधिवेशनले भने अझै पूर्णता पाएको छैन । १६ जिल्लाको अधिवेशन थाँती राखेर १४ औं महाविधेशन सम्पन्न गरिएको थियो । 

त्यतिबेला पुसमै जिल्ला अधिवेशनहरु सक्ने तय भएको भए पनि कोरोना भाइरस लगायतका विविध कारणले गर्दा सम्भव हुन सकेन । तर यसपटक भने अधिवेशन सकिने दाबी गरिएको छ । १६ जिल्लामध्ये ८ जिल्लाको नेतृत्व चयन भइसकेको छ । 

आठमध्ये चितवन, सिन्धुली, बाँके र नवलपुरमा डा. शेखर कोइराला पक्षले जितेको छ भने कैलाली, मकवानपुर र पर्सामा संस्थापनले जितेको छ । महोत्तरी जिल्ला सभापति नागेश्वर यादवले भने आफू कुनै पक्षको नभइ कांग्रेसमात्र भएको दाबी गरेका छन् । 

पाँचको आज निर्वाचन
१४ औं महाधिवेशन हुनुअघि १६ मध्ये मधेस प्रदेशका सबै आठ जिल्लाको अधिवेशन हुन बाँकी रहेको थियो । तर अब भने धेरैजसो जिल्लाहरुमा नेतृत्व चयन हुँदैछ । 

आठ वटा जिल्लामा अहिलेसम्म नेतृत्व चयन हुन सकेको छैन । जसमा मधेस प्रदेशका सिराहा, सप्तरी, धनुषा, रौतहट, बारा र सर्लाही हुन् । 

त्यस्तै सुदूरपश्चिमको अछाम र सिन्धुपाल्चोकमा चयन हुन बाँकी छ । 

आज एकैदिन पाँच जिल्लाको नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज अछामसँगै मधेसका चार जिल्ला धनुषा, सिराहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको हो ।

अछाममा पहिलो चरणको चुनावबाट नेतृत्वका लागि तीन उम्मदेवारले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि प्रतिस्पर्धा भइरहेको छ । सहमतिको प्रयास असफल भएपछि अहिले नेतृत्वका लागि मतदान भइरहेको छ । 

सभापतिका अर्का उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाटै बाहिरिइसकेका छन् । सहमति जुट्न नसकेपछि बिहान ८ बजेबाट मतदान हुने भएको हो । पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए ।

धनुषामा त्रिपक्षीय भिडन्त हुँदैछ । । संस्थापन पक्षबाट सन्तोष यादव, विमलेन्द्र निधी पक्षबाट योगेन्द्र पञ्जियार र डा शेखर कोइराला पक्षबाट दिनेश प्रसैला यादव प्रतिस्पर्धामा उत्रेका हुन् । 

सिराहामा पूर्वसभापति रामचन्द्र यादव र रामसुन्दर चौधरीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यादव संस्थापन र चौधरी संस्थापन इतर पक्षका उम्मेदवार हुन् ।

सर्लाही सभापतिका लागि संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापन इतर पक्षबाट लक्ष्मण राय यादव चुनावी मैदानमा छन् । 

रौतहट सभापतिका लागि संस्थापन पक्षबाट सुनिलकुमार यादव (जितेन्द्र) र संस्थापन इतर पक्षबाट हृदयनारायण यादव प्रतिस्पर्धामा उत्रेका छन् । 

सप्तरी र बारा र सिन्धुपाल्चोकको यसै साता निर्वाचन सकिएर नेतृत्व चयन भइसक्ने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति सचिव केसव रिजालले बताए । 

उनका अनुसार सप्तरीमा मंगलबार निर्वाचन हुँदैछ । सिन्धुपाल्चोकमा २६ वा २७ गते निर्वाचन हुँदैछ । त्यस्तै बारामा पनि केही दिनमा निर्वाचन हुने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ