arrow

घरघरमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

logo
रासस
प्रकाशित २०७८ फागुन २३ सोमबार
Bandipur-.jpg

तनहुँ । बन्दीपुर गाउँपालिका-१ भैंसीगोठ खानेपानी योजनाको निर्माण पूरा भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीबाट सङ्कलित रकम र जनश्रम व्यहोरेर उक्त योजना सम्पन्न गरिएको हो । 

विगत लामो समयदेखि कुवाँको पानी बोकेर ल्याइ खाने गरेका उक्त बस्तीको घरघरमा पानीको धारा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । कूल रु १९ लाख ६५ हजारको लागतमा उक्त योजना सम्पन्न भएको भैँसीगोठ खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष सुस्मा कार्की शाहीले जानकारी दिए । 

उक्त योजनाका लागि बन्दीपुर गाउँपालिकाबाट रु ११ लाख ५० हजार, उपभोक्ताबाट सङ्कलित रु चार लाख ८५ हजार र रु तीन लाख ३० हजार बराबरको जनश्रम व्यहोरिएको थियो । उक्त योजनाबाट ३४ वटा धारा निर्माण गरी खानेपानी वितरण गरिएपछि त्यसक्षेत्रका ५३ घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । 

गाउँमा खानेपानीको धारा नहुँदा कुवाको पानी बोकेर ल्याउनुपर्ने बाध्यता अब आउँदा दिनमा नहुने उनले बताए । बस्तीदेखि कुवा टाढा रहेका कारण पानीका लागि एक जनशक्ति नै खटाउनुपर्ने बाध्यता यहाँका बासिन्दाको रहेको उपभोक्ता समिति सदस्य लक्ष्मी थापाले बताए । 

सोही वडास्थित खहरे खोल्सीको पानी लिफ्टिङ गरेर बस्तीमा पानी वितरण गरिएको हो । खोल्सीको पानी करिब ३०० मिटर उचाइमा लिफ्ट गरी ट्याङ्कीमा सङ्कलन गरेर वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए । 

कुवाको पानी पिउन बाध्य यहाँका बासिन्दालाई सफा पानी खुवाउनका लागि बजेट उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । गाउँपालिकाले खानेपानी, स्वास्थ्य, शिक्षा, व्यावसायिक पशुपालन, तरकारीखेती र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उहाँको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ