arrow

नेपालको प्रतिक्रियापछि महाकाली नदीमा आफ्नै क्षेत्रमा तटबन्ध बनाउने भारतको प्रतिवद्धता

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७८ फागुन २५ बुधबार
border-nepal-india-mahakali-darchula.jpg

दार्चुला । भारतले नेपालको अनुमति विना महाकाली नदीमा एकतर्फी रुपमा तटबन्ध बनाउन थालेपछि तनाव सृजना भएको छ । दार्चुलामा नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुनेगरी आफूखुशी पक्की तटबन्ध निर्माणको कार्य गरेपछि दुवै पक्षबीच तनाव भएको हो । 

महाकाली नगरपालिका–४ स्थित लास्कु खोला नजिकै भारतीय पक्षले स्काभेटर लगाएर महाकालीको बहाव नेपाल फर्काउन खोज्दा स्थानीयले प्रतिवाद गरेका हुन् । मंगलबार भारतीय स्काभेटर बीच नदी हुँदै बहावलाई नेपालतर्फ पल्टाउन खोज्दा दुवै देशका स्थानीयबीच ढुङ्गा हानाहान भएको हो । 

वारिपारिका स्थानीयबीच भएको तनाव प्रशासनिक पहलपछि मत्थर भएको थियो । स्थानीय रामसिंह कार्की भने, ‘भारतीय स्काभेटर बीच महाकाली हुँदै बहाव नेपालतर्फ पल्टाउँदै थियो, नेपाल पक्षबाट त्यसको प्रतिवादमा ढुङ्गा हानियो । नेपाली नागरिकले ढुङ्गा हानेपछि भारतबाट स्थानीयले पनि नेपालतर्फ ढुङ्गा प्रहार गरे ।’

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले एकतर्फी एस्काभेटर चलाएर महाकाली नदीको बहाव परिवर्तन गर्न खोज्दा समस्या आएको बताए ।

‘नेपाली प्रशासनसँग समन्वय नै नगरी संरचना निर्माण गर्दा नेपाली भूभागबाट ढुंगा उत्खनन् गरिरहेको हुनाले स्थानीयहरू आक्रोशित भएका थिए’ प्रजिअ उपाध्यायले भने, ‘त्यसपछि भारतीय नागरिकले पनि नेपालतर्फ केही ढुङ्गा हानेको स्थानीयले हामीलाई बताएका छन् । त्यसपछि दुवैतर्फका प्रशासनको सहयोगमा स्थानीयलाई शान्त पारिएको तथा स्काभेटर नदीबाट पारिपट्टि नै पठाइएको हो ।’

गत माघमा दुवै देशका सीमा अधिकारीबीचको ‘भर्चुअल’ बैठकमा प्रजिअ उपाध्यायले तटबन्ध निर्माणको विषय पनि उठाएका थिए । जवाफमा भारतीय पक्षले नेपाली भूभागतिर केही असर नगर्ने गरी तटबन्ध निर्माण गर्ने र त्यसको विस्तृत जानकारी दिने प्रतिबद्धता जनाए पनि त्यसो हुन सकेको छैन ।

सो क्षेत्रमा खोतिला पहिरोले समस्या गर्ने हुँदा पक्की तटबन्ध बनाइरहेको भारतीय पक्षले जनाएको छ । आफ्नोतिर नदीको बहाव रहेकाले काम गर्न समस्या हुँदा बहाव पल्टाउन खोजेको भारतीय पक्षको भनाइ छ । साथै उसले अब भारततिरबाटै तटबन्ध निर्माण कार्य थाल्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ