arrow

भारत र चीन दुवैसँग नेपालको सम्बन्ध चिसिँदै जान लागेको आङ्कलन गरिँदै छ : कमल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
kamal-thapa_(2)1.jpg

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष  कमल थापाले वर्तमान सरकारको फितलो र अदूरदर्शी नीतिले गर्दा नेपालको छिमेकी राष्ट्रसँगको सम्बन्ध सौहार्दपूर्ण हुन नसकेको टिप्पणी गरेका छन् ।आज  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले  यस्तो बताएका हुन् । 

पूर्व परराष्ट्र मन्त्री समेत रहेका अध्यक्ष थापाले भने,‘प्रधानमन्त्री शेरबहादुर देउवाले न भारत भ्रमणमा जाने अवसर पाउनु भएको छ, न त चीन नै जाने अवसर पाउनुभएको छ । र, साथसाथै खास गरी भारत र चीन दुवैसँग नेपालको सम्बन्ध चिसिँदै जान लागेको आङ्कलन गरिँदै छ । अर्कोतर्फ, प्रमुख दलहरूको अदुरदर्शीता र सत्ता लोलुपताको कारण देशमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी भइरहेको छ । प्रमुख दलले राज्य संयन्त्रमा कब्जा गरेर आफ्नो पार्टीको स्वार्थलाई सिद्ध गर्नको लागि प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानलाई पटक-पटक आघात पुर्‍याएका छन् ।’

उनले अहिले नेपालको राष्ट्रिय राजनीति सङ्कटको चक्रव्यूहमा फसेको छ । विगत ७ महिनादेखि संसद् अवरुद्ध छ । न्यायपालिकाभित्रको अराजकता अझै समाधान भएको छैन । अब देशलाई सङ्कटबाट मुक्त तुल्याउनको लागि ताजा जनादेश र संसद्को निर्वाचनमा चाँडो नै जानुपर्छ । यो नै उपयुक्त विकल्प हो । जनताले ताजा जनादेशको माध्यमबाट नयाँ शक्ति, नयाँ विचार र नयाँ बाटोलाई रोज्नेछन् ।’

थापाले अहिले प्रमुख दलहरूको अदुरदर्शीताको कारण पनि देश सङ्कटको चक्रव्यूहमा फसेको टिप्पणी गरे । उनले भने,‘बाह्य शक्तिको चलखेल र प्रभाव तीव्र रूपले बढेको छ । नेपाल विश्व महाशक्तिहरूको रणनीतिक प्रतिस्पर्धाको स्थल बन्नसक्ने सङ्केत देखा परेका छन् । पछिल्लो समय एमसीसीका सम्बन्धमा जे-जस्ता विवाद देखा परे, त्यसले पनि नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेलको केन्द्र बन्नसक्ने खतरा सहजै देख्न सक्छौँ ।’

उनले अहिले नेपालको अर्थतन्त्र दिनदिनै कमजोर हुँदै गएको पनि गुनासो पोखे । उनले भने,‘नेपालको सम्पूर्ण अर्थतन्त्र र आर्थिक गतिविधि केबल रेमिट्यान्समा मात्रै अडिएको छ । वैदेशिक रोजगारीमा अलिकति पनि खलल पर्‍यो भने नेपालको अर्थतन्त्र नै नै धराशायी हुने खतरा छ । त्यसैले जतिसक्दो नेपालको आर्थिक व्यवस्थालाई सुदृढ तुल्याउनुपर्छ । भ्रष्टाचार अत्यन्तै विकराल भएको छ। यो नियन्त्रण गर्ने संस्थाहरू सरकार र दलको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेका छन् । ठुला-ठुला भ्रष्टाचार काण्डका छानबिन त्यसै सेलाएका छन् । छानबिन भएर अदालतसम्म पुगेका कतिपय भ्रष्टाचारका मुद्दाहरूमा पनि सम्बन्धित निकायले ठोस र प्रभावकारी कदम चाल्न सकेका छैनन् ।’

उनले धर्मनिरपेक्षताको आडमा सङ्गठित र योजनाबद्ध रूपमा धर्म परिवर्तन भइरहेको पनि आरोप लगाए । उनले भने,‘विदेशी धर्म र संस्कृति लाद्ने काम भइरहेको छ।’

आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हासिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी गरेका छन् । उनले अहिले पार्टीको सङ्गठन निर्माणको काम युद्ध स्तरमा भइरहेको पनि जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ