arrow

कांग्रेस प्रवक्ता महत भन्छन् – आगामी चुनावमा नेपाली कांग्रेसलाई कसैले रोक्न सक्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २८ शनिबार
congress-abhiyan-jitau1.jpg

ककनी । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा नेपाली कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । नुवाकोटको ककनीमा  स्थानीय तह निर्वाचन २०७९ केन्द्रित “घर घर जाऔं,कांग्रेस जिताऔं” अभियान अन्तरगत प्रदेश क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रमको समुद्घाटन समारोहलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले यो अभियान आगामी स्थानीय निर्वाचन जित्न आरम्भ गरिन लागेको बताउदै भने,“यो अभियान सम्पूर्ण वडा र पालिका जित्ने लक्ष्यका साथ थाल्नुहोस् । स्थानीय तहको निर्वाचन जितेपछि प्रदेश र संसदीय निर्वाचन जित्न सहज हुन्छ । नेपाली कांग्रेसलाई कसैले रोक्न सक्दैन ।”

प्रवक्ता महतले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस पराजित हुँदा विकास प्रयास सिथिल भएको सिथिल भएको उल्लेख गर्दै भने, “नेपाली कांग्रेसले चुनाव जितेको समयमा जिल्लामा कति विकास आयोजना आएका थिए,कति सम्पन्न भए र कम्युनिष्टहरुले चुनाव जितेको ५ वर्षमा कति आयोजना आए,कति सम्पन्न भए । विगतमा थालिएका आयोजनाहरुको अवस्था के छ ? त्यसको तुलना गर्ने हो भने आम नागरिकका बीचमा निर्वाचनमा नेपाली कांग्रेसका पक्षमा मत माग्न हामीलाई कुनै संकोच र अप्ठ्यारो मान्नु पर्ने अवस्था आउदैन ।”

उनले नेपाली कांग्रेसका पालामा सडक, सिचाई, खानेपानी, विद्युतीकरण जस्ता पूर्वाधार विकासको अभियान तीव्र भएको स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि धेरै काम भएकोले तिनलाई मतदाताको बीचमा स्मरण गराउन पनि आग्रह गरे । 

पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्री रहेका डा. महतले यो अभियानलाई आम नागरिकसँग दोहोरो सम्बादको रुपमा सञ्चालन गर्न पनि अनुरोध गरे । यो अभियानका क्रममा नागरिकहरुको चाहना र आवश्यकताको बारेमा पनि जानकारी लिन उनले आग्रह गरे । 

उनले जिल्ला तहका नेता तथा कार्यकर्ताहरुलाई अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसलाई मत नदिनेहरुको पनि पहिचान गरेर मत नदिनुको कारण पहिल्याएर नेपाली कांग्रेसका पक्षमा मतदान गर्न लालयित बनाउन आग्रह गरे । 

उनले पार्टीको १४ औं महाधिवेशनमा निर्वाचित भएर जिम्मेवारी पाउनुभएका साथीहरुलाई सबैलाई समेटेर पार्टीका कार्यक्रममा सरिक गराउन पनि आग्रह गरे । उनले पार्टीभित्रको आन्तरिक जित हारलाई ठूलो नमानिकन स्वभाविक रुपमा लिएर आउने निर्वाचन जितेर जनताको सेवामा लाग्ने लक्ष्य हासिल गर्न सबैलाई आग्रह पनि गरे । 

निर्वाचन जित्ने लक्ष्य नलिदा पार्टीहरु क्लबमा रुपान्तरित हुने बताउदै प्रवक्ता डा महतले भने, “निर्वाचन जितेर सरकार बनाएपछि राज्यको स्रोत र साधन तथा जनशक्तिको उपयोग गरेर जनताको सेवा गर्न पाइन्छ । देशको पूर्वाधार तथा आर्थिक सामाजिक विकास गर्न पाइन्छ । जनताको जीवनस्तर उठाउन पाइन्छ ।”

कांग्रेस प्रवक्ता महतले नेपाली युवाहरु कामको लागि विदेशिएकोले घरघर पुगेर महिलाहरुलाई संझाउने कार्यमा महिला नेतृहरु अझ सक्रिय हुनुपर्ने पनि बताए ।

पूर्व मन्त्री डा. महतले नेपाली कांग्रेस पराजित हुँदा देशमा भ्रष्टाचार बढेको र विकास प्रक्रिया अवरुद्ध भएको उल्लेख गर्दै व्यक्तिमा शक्ति केन्द्रित गर्ने होडले झण्डै दुई तिहाईका कम्युनिष्ट सरकार पतन भएर पार्टी पनि विभाजित भएपछि फुटेर आएका कम्युनिष्ट र अन्य दलको सहयोगमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले देशमा कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्ने, मुलुकमा सुशासन कायम  गर्ने काम गरेको पनि दाबी गरे । 

कार्यक्रममा डा. महतले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँग नेपालको सडक विस्तार तथा मर्मत संभार र विद्युत प्रशारण लाईन निर्माणको लागि ५०० मिलियन अमेरिकी डलर (६०अर्ब नेपाली रुपैया) रकम अनुदान लिने सम्बन्धमा भएको संझौताको विषयमा पनि प्रकाश पारेका थिए  ।

उनले यो अनुदान सहयोग नेपालले नै माग गरेको, यो अनुदान अन्तरगत आउने रकम खर्च र परियोजना सञ्चालन नेपालका अर्थसचिवको संयोजकत्वमा बनेको मिलिनियम च्यालेञ्ज एकाउण्टले गर्ने, यस अन्तरगत बनेका परियोजनाहरु निर्माण सम्पन्न भएपछि नेपाल सरकारलाई हस्तान्तरण गरिने, यी परियोजना बन्दा कुनै बौद्धिक सम्पत्तिको सिर्जना भए नेपालको हुने, नेपालको महालेखाले लेखापरीक्षण गर्न पाउने, यो सहयोग कुनै सैन्य रणनीतिसंग आबद्ध नभएको र यसलाई आधार बनाएर अमेरिकी सेना आउन नसक्ने मात्र हैन यो सहयोग सैन्य प्रयोजनमा उपयोग गर्न नपाइने स्पष्ट किटानी भएकोले कम्युनिष्टहरुको भ्रममा नपर्न पनि अनुरोध गरे । 

कांग्रेस प्रवक्ता डा महतले यो अनुदान लिने सम्बन्धमा झलनाथ खनालको नेतृत्वमा रहेको सरकारले पनि सहमति दिएको, डा. बाबुराम भट्टराईको नेतृत्वको, खिलराज रेग्मीको नेतृत्वको, सुशील कोइराला नेतृत्वको, नेकपा एमालेका केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले पनि अघि बढाएको तथाा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वको अघिल्लो सरकारका पालामा संझौता भएकोले यसमा विवाद हुनुनपर्ने अवस्था विद्यमान रहेको पनि उनले बताए ।

कांग्रेस नेता डा. महतले नेपाली कांग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझ पूर्ण नेतृत्वमा एमसीसी संझौता पारित भएको पनि बताए । यो संझौतामा भएका प्रावधानले नेपालले अन्य देश तथा  दातृ निकायबाट लिने अनुदान तथा ऋणका प्रावधानहरुमा पनि नेपालमैत्री हुने गरी फेरबदल ल्याउन सक्ने बताए ।

नेपाली कांग्रेस नुवाकोट प्रदेश क्षेत्र १ (ख) का सभापति रामजी पौडेलको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा ककनी गाउँपालिकाका अध्यक्ष भाग्यश्री लामा, महासमिति सदस्य कृष्ण लामा र नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले पनि संबोधन गर्नुभएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ