arrow

नारायणहिटी कब्जा गर्ने चेतावनी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
narayanhiti-palace.jpg

काठमाडौं। शाही युवा शक्ति नेपालले ११औं स्थापना दिवसको अवसरमा चैत २१ गते हिन्दुराष्ट्र र राजसंस्था पुन स्थापनाको पक्षमा विशाल र्‍याली निकालेर नारायणहिटी कब्जामा लिने चेतावनी दिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै शाही युवा शक्तिले त्यस्तो चेतावनी दिएको छ । 

शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले राजसंस्थाको पक्षमा अन्तिम लडाइँ लड्न चैत २१ गते सडकमा आउन आम नेपाली जनतामा आग्रह गरे । उनले फेसबुकमा ‘राजा आऊ देश बचाऊ’ भन्ने जनता सडकमा आउनुपर्ने बताएका थिए । खड्काले भने, ‘काठमाडौं उपत्यकाका हरेक चुनावी क्षेत्रमा गणतन्त्रको विरोध सभा र राजसंस्थाको स्थापना भनेर कार्यक्रम गर्नेछौँ ।’ चैत २१ गते रत्नपार्कमा भेला भएर र्‍याली निकालेर नारायणहिटी दरबारमा जाने र हाते साङ्लो बनाएर जनताको कब्जामा लिने कोसिस गर्ने बताए । 

अहिलेको अवस्थामा गणतन्त्रले सीमा नाघेको भन्दै फलस्वरूप एमसीसी पास भएको बताए । राजसंस्था र हिन्दुराष्ट्र तत्काल नफर्किए नेपाली जनताले दुःख पाउने तर्क गर्दै भने ‘नेपाली जनता कुनै देशको शरणार्थी हुनेछन् । त्यसैले अब जनताले सशक्तरुपमा आवाज उठाउन पर्छ ।’ 

खड्काले आफूहरू राष्ट्रका लागि जुनसुकै आहुति दिन तयार रहेको भन्दै नेपाली जनताले साथ दिनुपर्ने बताए । ‘राजा हुँदा हामी सबै नेपाली जनता थियौँ तर, लोकतन्त्रका नाममा गणतन्त्र आएपछि हामी सबै कार्यकर्ता भएका छौं । त्यसैले नेपाली जनताको अस्तित्वको बचाउनको लागी गणतन्त्र फाल्नुपर्छ,’उनले भने ।

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य मुकेश देवकोटाले विगत दश वर्ष देखि सहयोग गर्ने सम्पूर्ण नेपालीप्रति आभार प्रकट गरेका थिए । राजनीतिक दलका नेताहरूलाई ‘छोटे राजा’ को संज्ञा दिँदै नेताहरूले देश बेचेर खाएको आरोप लगाउँदै उनले पूर्व राजा ज्ञानेन्द्र शाहालाई पुनः गद्दीमा बसाल्ने दाबी गरे । उनले देशका ४० जिल्लामा आफूहरूले सङ्गठन विस्तार गरिसकेको जानकारी दिए । 

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य रामकुमार बस्नेतले आफूहरूले दश वर्ष पहिला पहिलो पटक गणतन्त्र विरोधी अभियान सुरु गरेको स्मरण गराउँदै राजतन्त्र फालेकोमा नेपाली जनता पछुताएको बताए । एमसीसीको नाममा सरकारले युरेनियम बेच्च लागेको आरोप लगाए ।

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य हरिराम गौतमले देशमा रहेका विकृतिलाई जनतामाझ ल्याएर शाही युवा शक्तिले राजसंस्थालाई पुनर्स्थापना गर्ने दाबी गरे । आगामी दिनमा अझै सशक्त रूपमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘विदेशमा बेचिएका चेलीहरूलाई नेपाल फिर्ता ल्याएर नेपालमै पुनर्स्थापना गर्ने काममा अब हामी लाग्नेछौँ ।’

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य राजकुमार गिरीले सरकारले देशको अर्थतन्त्र ध्वस्त पारेको बताउँदै सरकार चलाउने नेताहरू विदेशीको गुलाम भएको आरोप लगाए । उनले नेपाली जनता अबका दिनमा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दिन आएको भन्दै शाही युवा शक्ति नेपालको अभियानमा जोडिनको आग्रह गरेका थिए । 

‘पूर्व राजा ज्ञानेन्द्र शाहालाई श्रीपेच लगाएर हामीले छिटै नारायणहिटीमा फर्काउने हो यसमा नेपाली जनताको सहयोग चाहिन्छ,’उनले भने । 

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य कवीन्द्र देउजाले विदेशी दलालहरूले देशमा धर्मनिरपेक्ष लागु गरेको आरोप लगाउँदै हिन्दुराष्ट्र नेपाल र नेपाली जनताको हितमा रहेको बताए । 

शाही युवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम वैदारले आफूहरूले सडक सङ्घर्षको माध्यमबाटै राज संस्था फर्काउने उद्देश्य लिएको भए पनि नेपाली जनताबाट साथ नपाएको गुनासो गरे । साथै, शाही युवा शक्ति नेपाल र राप्रपा बिच एकताका लागि वार्ता भइरहेको समेत जानकारी दिए । ‘नेपाली जनता सडकमा आउन नचाहेको जस्तो देखेर हामी भोटबाट केही हुन्छ की भनेर वार्तामा लागिरहेका छौं,’ उनले भने । उनले चैत २१ गतेको कार्यक्रममा उपस्थित हुन सबैमा आग्रह गरे । 

कार्यक्रमको सञ्चालन शाही युवा शक्ति नेपालका प्रवक्ता गोविन्द ढुङ्गानाले गरेका थिए । ढुङ्गानाले शाही युवा शक्ति नेपालको ११औं स्थापना दिवसको अवसरमा चैत २१ गते रत्नपार्कमा सहभागी हुन आग्रह गरे । २०६८ सालमा स्थापना भएको संस्थाले अहिलेसम्म विभिन्न सङ्घर्ष गरिरहेको स्मरण गर्दै उनले भने, ‘एमसीसीको विरुद्धमा पहिलो पटक आवाज उठाउने संस्था पनि यही हो ।’ 

उनले नेपाली नागरिकले गणतन्त्रका कारण सुखको श्वास फेर्न नपाएको भन्दै राजसंस्थाको पुनर्स्थापना हुनुपर्ने औँल्याए । उनले आफूहरूले पृथक् सङ्घर्षका कार्यक्रम गरिरहेको भन्दै नेपाली जनतालाई शक्तिको रूपमा उजागर भएर सडकमा आउन आह्वान गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ