arrow

नयाँ वर्षमा लेकसाइडमा फेवा नव वर्ष महोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
lakeside.jpg

पोखरा। होटल संघ पोखरा नेपालले १७औं फेवा नववर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यहि चैत ३० गतेदेखि वैशाख १ गतेसम्म पोखराको लेकसाइडस्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुनेछ । 

कोभिड-१९ का कारण २ बर्षसम्म स्थगित महोत्सवलाई यसपटक निरन्तरता दिन लागिएको संघले जनाएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको प्रायोजक रहेकोछ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष लक्ष्मण सुवेदीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।

लेकसाइडका विभिन्न शाखा मार्गहरुलाई लक्षित गरी संयोजकहरुसमेत छनौट गरिएको छ । सो अवसरमा आयोजित कार्यक्रममा होटल संघ नेपालका केन्द्रीय सदस्य एवं संघका सल्लाहकार भरतराज पराजुली र संघका अर्का सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले महोत्सवलाई सफल बनाउन सबै व्यवसायी एकजुट भएर सक्रियता प्रदर्शन गर्न आग्रह गरेका थिए ।

कोभिड–१९ का कारण थला परेको पर्यटनलाई पुनर्जागृत गर्न महोत्सव आयोजना गर्न लागिएको संयोजक सुबेदीले जानकारी दिए । पछिल्लो समयमा पोखरामा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको, भारतीय पर्यटक आउनेक्रम सुरु भएको र कतिपय तेश्रो मुलुकका पर्यटक समेत देखिन थालेको सुबेदीले सो अवसरमा सुनाए । 

उनले आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न महोत्सवले सघाउने विश्वास व्यक्त गरे । अंग्रेजी नयाँबर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले जोड दिनेछ ।

महोत्सवलाई आकर्षक र नयाँ ढंगले सम्पन्न गर्न तयारीहरु अगाडि बढिसकेको संघका महासचिव एवं महोत्सवको प्रचार समितिका संयोजक राजेन्द्र ढकालले जानकारी दिए । 

रेवान पोखरासँगको समन्वयमा संघले सडकमा देशविदेशका खानाहरुको स्वाद चाख्ने व्यवस्था मिलाएको छ । अम्मट र सेन्टर प्वाइन्ट लगायतका क्षेत्रमा आकर्षक स्टेज निर्माण गरी दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरुलाई समेट्ने योजना संघले बनाएको छ । 

ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति पनि सो अवसरमा रहने छन् । महोत्सवको उद्घाटन अघि ड्यामसाइड र खहरेबाट झाँकीहरुको र्याली निकालिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ