arrow

पसिना गनायो ! 

logo
शिवप्रसाद पोखरेल, 
प्रकाशित २०७८ चैत ५ शनिबार
275849211_1453527138435674_2418978901649117232_n.jpg

पहिला हाम्रा भुरा हिँड्दा जमीन थर्कन्थ्यो । केही समय हामी एक नम्बरको पार्टी बनेर देखाइदियौं । धेरै मानिसहरु हामीलाई हेर्नका लागि लाइन लाग्थे । 

हाम्रो पार्टीका लागि सहयोग गर्ने दानीहरु एकपछि अर्को गर्दै बढ्दै गए र हामीलाई आनन्दमय हुँदै गयो । 

तिनको शरीरबाट नाकलाई सजिलै थाहा दिने अत्तरका बास्नाहरु निकै प्यारो लाग्न थाले । तिनलाई कहिल्यै चित्त दुखाएनौं । 

जो हाम्रा लागि लडेका थिए तिनीहरुको भने पसिना गनाउन थालेर हामीले सल्लाह नै गरेर खाडी–मलेसियातिर जाँदा हुन्छ भनेर पठायौं । 

पछि नेपाल आउन मिल्यो भने हाम्रो लागि थोरै अत्तर किनेर ल्याउन पनि भनेका थियौं । 
तर तिनीहरु आज पनि उतै भेँडा चराउँदै छन् भन्ने कुरा विभिन्न संचार माध्यमबाट हामीलाई पूरै जानकारी छ ।  

पहिला–पहिला हामीले मन लागेको मात्रै गर्यौं र त्यसैलाई क्रान्ति भन्यौं । अनि सबैले पत्याइदिए । 

बिस्तारै हामी १ नम्बरको पार्टीलाई ३ नम्बरमा झारिदिए । अनि हामीलाई रीस उठेर ‘नेकप्पा’ बनेर देखाई दियौं ।

त्यतिबेला हाम्रा ठूलेहरु राजनीतिमा नै रहे । केही ठुलेका सन्तानहरु बुर्जुवा शिक्षातिर लागे । सानेका सन्तानहरु अशिक्षित भए । 

हामीलाई नेकप्पा हुँदा पनि अलि धेरै नै हेपाइ भएर अहिले फेरि आफ्नै पार्टी जोगाउंँदै छौं ।

हाम्रा लागि अन्जानमा लडेकाहरुको पसिना मात्र नगन्हाएको भए हामी अझै केही गर्न सक्ने थियौं भन्ने लाग्छ । 

हामीलाई पत्याउनेको झुपडी आज पनि उही हालतमा देख्दा दया लाग्छ । आँशु नै झर्न खोज्दा पनि सम्हालिन्छौँ । 

तिनका आफन्तले हामीलाई नै भोट दिए भने अझै हामी केही गर्न सक्थ्यौं भन्ने हामीलाई छ ।

अझै हार खान हुँदैन । अशिक्षित, बेरोजगारलाई चलायमान गर्न सके केही वर्ष राजनीति गर्नका लागि ठाउँ छ भन्ने लाग्छ । नेपालमा जन्मिएका सीमित भाग्यमानीहरु ।  

नजिकैको छिमेकी देश भारतको राजधानी र पञ्जाबमा चुनावी नतिजामा ठूलो परिवर्तन आएको छ ।

त्यहाँ त परिवर्तन सम्भव देखिन्छ । हाम्रोमा परिवर्तन निकै कठिन छ । 

किनकि नेतृत्वमा रहेकाहरुको दम्भ, ऐश आराम, व्यक्तिगत स्वार्थ, गैह्र जिम्मेवारीपन आदि बलियो हुंँदै गएको छ ।

अर्को पक्ष, खुल्किएका, भनेको नमान्ने, अध्ययन नगर्ने, होहल्लाको पछि लाग्ने, भीडबाट समस्या समाधान गर्न खोज्ने, विना परिश्रम राम्रो आय आर्जन खोज्ने सोच भएका जनता देशको अधोगतिका लागि सहयोगीको भूमिकामा छन् ।  

 नेपालमा रहेका अनगिन्ती राजनीतिक कम्पनीहरु, कसैको पनि भविश्य गतिलो देखिंदैन । 

कम्पनीका कर्मचारीहरुको भने भविश्य राम्रै देखिन्छ ।

नेपालमा जन्मिएका सीमित भाग्यमानीहरु ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ