- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताएका छन् । सल्यान पुगेका प्रवक्ता डा.महतले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
अहिले पार्टी विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरुको टुंगो लगाउन पार्टीले केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको बताउदै डा. महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरुको टुंगो चैत्र महिनाभित्रै लगाउने बताए ।
“यसपटक विगतमा भए जस्तो उम्मेदवादी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन् । निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गछौं ।”, प्रवक्ता महतले भने ।
उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने पनि बताए । उनले भने ,“जुन तहको हो उम्मेद्वारी हो , त्यही टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ ।”
कांग्रेस प्रवक्ता डा. महतले नेपाली कांग्रेसले आरम्भ गरेको “घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं” भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसंग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
उनले यो अभियानका क्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्नो पार्टीका प्रतिनिधिहरुले गरेका काम, तीनै तहका सरकारले गरेको कामका बारेमा नागरिककाबीचमा जानकारी गराउने र नागरिकका गुनासा सुनेर पार्टीका विभिन्न निकायमार्फत तिनको समाधान गर्ने पद्धति बसाउने पनि बताए ।
कार्यक्रममा कांग्रेस प्रवक्ता डा.महतले स्थानीय तहको उम्मेद्वारीको सामान्य मापदण्ड पनि सार्वजनिक गरे ।
उनले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकोले जो उठाउदा बढी मत आउछ त्यसैलाई प्राथमिकता दिएर उम्मेद्वारी तय गर्न उपयुक्त हुने बताउनु भयो ।
"माथिल्लो तहको चुनावमा सबैले सबैलाई चिनेको हुँदैन त्यसैले पार्टीगत आधारमा मतदान हुन्छ । तर स्थानीय तहको निर्वाचनमा सबले सबैलाई चिनेको हुन्छ । उसको आनीबानी,व्यहार, व्यक्तित्व, कार्य क्षमता, योग्यता सबैले जान्ने भएकोले जो उठाउदा चुनाव जितिन्छ, त्यसलाई उठाउन उचित हुन्छ ।" , डा महतले भने ।
डा.महतले फागुन २९ गतेदेखि सुरु भएको "घरघर जाऔं,कांग्रेस जिताऔं अभियान"ले स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउने आधार तयार गर्ने पनि उल्लेख गरे ।
उनले यस अभियानमा विपक्षीहरुद्धारा स्थानीय तथा राष्ट्रिय स्तरमा उठाइएका भ्रम तथा अफवाहलाई पनि चिरिने बताए ।
गठबन्धन आवश्यकताका अधारमा
कांग्रेस प्रवक्ता डा. महतले आउने स्थानीय चुनावमा केन्द्रमा सत्तागठबन्धनमा रहेका दलहरुबीच गठबन्धन हुन्छ कि हुँदैन भन्ने बारेमा पनि बोले । उनले स्थानीय निर्र्वाचनमा स्थानीय आवश्यकताका आधारमा पनि यसको तय हुने तर गठबन्धन हुने नहुनेबारेमा नेपाली कांग्रेसको यही ११ गते बस्ने बैठकले सिद्धान्त तय गर्न सक्ने पनि बताए ।
उनले सबै दलको लक्ष्य निर्वाचनमा बढी सिट जित्ने हुने भएकोले के गर्दा बढी सिट जितिन्छ, त्यसै अनुरुप निर्णय हुने पनि बताए । "एक्लै लड्दा बढी जितिन्छ भन्ने देखियो भने त्यही गरौं, सहकार्य गर्दा बढी सिट जितिने भयो भने त्यसको आधारमा होला ।", उनले भने ।
उनले नेपाली कांग्रेसका कार्यकर्ताहरु अहिले गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने बहसमा अल्झन नहुने तर वर्तमान गठबन्धन कुन अवस्थामा बनेको होे भन्नेमा हेक्का राख्नुपर्ने बताए । तात्कालीन ओली सरकारले संविधानको उल्लंघन गर्दै प्रतिनिधिसभा दुई पटक विघटन गरेको, देशमा भ्रष्ट्राचार बढेको, कोरोनाले आक्रान्त नागरिकले खोप पाउन नसकेको बेलामा गठबन्धन बनेको उनले उल्लेख गरे ।
उनले भने " नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि भ्रष्टाचार रोकियो। खोपको व्यवस्था भयो। विद्यालय कलेज खुलेका छन् । जनजीवन सामान्य बन्दै गएको छ । कतिपय कुरा संयुक्त सरकारले समयमा निर्णय गर्न नसकेको होला तर हिजो नेकपा एमालेको सरकारको पालाको जस्तो आतंकित हुने अवस्था अहिले छैन ।"
उनले नेपाली जनताको पछौटेपना र गरिबीको फाइदा उठाउदै कम्युनिष्टहरुले तिलस्मी सपना देखाएर जनतालाई गरिबीमा अल्झाएको आरोप पनि लगाउनुभयो । दुई बर्षमा रेल ल्याउने, घरघरमा पाइपमा ग्यास पुर्याउने र पानी जहाज ल्याउने कुरा सुनाएर जनता अल्मल्याएको प्रसंग पनि उनले निकाले ।
उनले हालै ससदबाट पारित एमसीसी संझौताको प्रसंग निकाल्दै कम्युनिष्ट नेताहरुको भनाई र गराईमा कुनै तालमेल नहुने पनि बताए । उनले भने, "नेपाली कांग्रेस सत्तामा हुँदा होस् कि विपक्षमा सत्यको पक्षमा बोल्छ र उभिइरहन्छ ।"
प्रवक्ता डा.महतले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशनबाट नेपालको सडक विस्तार र विद्युत प्रशारण लाईन निर्माणका लागि प्राप्त ५० करोड अमेरिकी डलर (झण्डै ६० अर्ब नेपाली रुपया भन्दमाथि)को अनुदान सहयोग लिने संबन्धमा भएको संझौता नेपाली कांग्रेसको प्रयासले संसदबाट पारित भएको पनि बताए ।
उनले यो संझौता लिने सम्बन्धमा अहिले संसदमा रहेका सबै दलहरु सरकारमा बस्दा अगाडि बढाउन सहमति दिएकोले नेपाली कांग्रेसले कुनै दलले विपक्षमा नहुने विश्वासमा लामो समयसम्म यसका बारेमा मुख नखोलेको बताए।
बीपी कोइरालाको भनाईलाई उद्घृत गर्दै उनले भने, “वी पीले भनेका थिए, जब सत्यको मुख बन्द हुन्छ, झूटाको थुतुनो चल्छ । अर्थात सत्य जानेका चुप बसेपछि जसले झूटो बोल्छ । बाँकीले त्यसको कुरा पत्याउने स्थिति हुन्छ । एमसीसीमा त्यही भएको हो ।”
प्रवक्ता डा.महतल थपे, “जब नेपाली कांग्रेसले सत्य बोल्न थाल्यो । एमसीसीका बारेमा कम्युनिष्टहरुले सिर्जना गरेको झूठको पर्दा गिर्न थाल्यो । आफू सत्तामा बस्दा ठिक हुन्छ भनेर सहमति गरेको छ । अगाडि बढाएको छ । पारित गर्ने बेलामा सडकमा उफ्रिएको छ । नेपालको अन्तराष्ट्रिय साखः गिरिसकेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वले एमसीसीमा राष्ट्रिय सहमति जुटाएर पुनस्थापित गर्ने काम गरेको छ ।”
उनले अमेरिकी अनुदानमा आएको यो सहयोेग अरु विदेशी सहयोग भन्दा उदार भएको उललेख गर्दै भने,“यो अनुदान सहयोगमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन्छ । खर्च परिचालन र सञ्चालन अर्थसचिवको नेतृत्वमा रहने एमसीए नेपालले गर्छ । नेपालको महालेखाले लेखापरीक्षण गर्दछ । यसमा आउने सहयोग निर्धारित परियोजना बाहेक अन्यन्त्र खर्च गर्न पाइदैन । सैन्य प्रयोजनमा त झन उपयोग गर्नै पाइदैन । यो परियोजना सकिएपछि यसले बनाएका संरचना नेपाल सरकारलाई हस्तान्तरण हुन्छ ।”
यस्तो उदार संझौतालाई विवादमा पार्न खोजेकोमा आश्चर्य व्यक्त गर्दै डा.महतले एमसीसीको पारदर्शी र उदार मोडललाई अन्य दातृ राष्ट्र र निकायले समेत अबलम्बन गर्न उचित हुने बताए ।