arrow

नेपाल आउने चिनियाँ कामदार चीनमा काम गर्ने नेपालीभन्दा साढे चार गुणा बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
nepal-china-flag.jpeg
तस्बिर– फाइल

काठमाडौं । पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने चिनियाँ कामदारको संख्या ह्वात्तै बढेको छ । श्रम स्वीकृति लिएर चीनमा काम गर्न जाने नेपालीको संख्याभन्दा साढे चार गुणा बढी चिनियाँहरु नेपालमा काम गर्न आउने गरेको पाइएको छ । 

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो पाँच वर्षमा ६ हजार १०० चिनियाँले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । सन् २०१७ देखि २०२२ मार्च १९ सम्म्मको अवधिमा ती चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका हुन् । 

नेपालमा काम गर्न आउने विदेशी नागरिकलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम स्वीकृति प्रदान गर्ने गर्छ । वैदेशिक रोजगार विभागका अनुसार सोही अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा चीन जान १ हजार ३१६ जनाले श्रम स्वीकृति लिएका छन् । 

‘देश भित्र अहिले चिनियाँ लगानीमा धेरै प्रोजेक्टहरु सञ्चालन भइरहेका छन् । ती प्रोजोक्टमा काम गर्न चीनले आफ्ना नागरिक ल्याएको छ । यसैकारण अन्य देशको तुलनामा चिनियाँ कामदर बढी देखिएको हो,’ श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यले भने । 

पछिल्लो पाँच वर्षमा कूल ८ हजार ५६५ जना विदेशी नागरिकले नेपालमा काम गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम स्वीकृति लिएका छन् । तीमध्ये करिव दुई तिहाई संख्या चिनियाँ नागरिकको रहेको छ । 

चिनियाँपछि नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउने ठूलो संख्या बेलायती, अमेरिकी, जापानी र दक्षिण कोरियालीहरुको छ । सो अवधिमा नेपालमा काम गर्न ४१६ जना बेलायती, २५० जना अमेरिकी, १८३ दक्षिण कोरियाली र १३० जना जापानीले श्रम स्वीकृति लिएका छन् । उक्त अवधिमा विश्वका ९९ देशका नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । 

चीनबाट नेपालमा आउनेको तुलनामा नेपालबाट चीनमा काम गर्न जानेको संख्या निकै सानो रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो आठ महिनामा मात्र तीन जना नेपालीले चीनमा काम गर्न श्रम स्वीकृति लिएका छन् । 

विभागका अनुसार आर्थिक वर्ष २०७७र७८ मा ११२, २०७६र७७  मा १९१, २०७५र७६ मा ४४८, २०७४र७५ मा ३३१ र २०७३र७४ मा २३१ जनाले चीन जानको लागि श्रम स्वीकृति लिएका थिए । 

नेपालबाट रोजगारीको लागि चीन जानेको संख्याभन्दा ४।६३ गुना बढी चिनियाँ कामदार कामको खोजीमा नेपाल आउने गरेका छन् । (कारखानाबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ