arrow

खयरमारामा भीषण पहिरो : दुई सय घरधुरी त्रासमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
jajarkot-landslide.jpg

जलेश्वर । महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबास नगरपालिकाको वडा नं १० खयरमारामा भीषण पहिरो जाँदा २०० घरधुरीका परिवारमा त्रास भएको छ । खयरमाराको चुरे पहाडमा गए राति बस्ती नजिकै तीनतले स्थानबाट पहिरो गएकाले अहिले त्यहाँका बासिन्दा त्रस्त भएको स्थानीयवासी इसारा लामाले बताए । 

मध्यरातसम्म साना-साना पहिरो झरे पनि आज बिहान २ बजेदेखि ठूला-ठूला र अहिले दिउँसोसम्ममा भीषण पहिरो झरेका कारण वरपरका २०० घरधुरी बासिन्दामा त्रास बढेको हो । 

तीनतलेबाट झरेको पहिराले खयरमाराको खोला पुरेपछि अहिले छोड्के, पिपलदमा, गुरुङखोला, चनौटे, गर्दीखोला, भाङ्गरे झ्याउरे र खयरमाराको मुख्य बजार नै जोखिममा परेको स्थानीयवासीले बताएका छन् । खयरमाराको भित्री बस्तीमा सडक सञ्जाल नहुँदा स्थानीयवासी खोलाबाटै आवतजावत गर्दै आएकामा अहिले पहिराले खोला पुरेपछि खयरमाराबाट बर्दिबास आवतजावत गर्ने बाटो पनि बन्द भएको छ । 

वर्षायाम लाग्नुभन्दा तीन-चार महिना पहिले नै गएको बेमौसमी पहिराले त्रस्त बनेका स्थानीयवासी वर्षायाम लागेपछि हुने थप पहिराको पीडालाई अनुमान गर्दै चिन्तित भएका छन् । 

वातावरण क्षेत्रमा काम गर्दै आएका बर्दिबासका नागदेव यादवले विगत एक सातादेखि तराई मधेसमा एक्कासि बढेको अत्यधिक तापक्रमले चुरे पहाडमा रहेको खुकुलो चट्टानमा तातो र चिसोको सन्तुलन मिल्न नसक्दा पहिरो गएको बताएका छन् । 

उनले थप पहिरो जान सक्ने भएकाले त्यस क्षेत्रका बस्ती जोखिममा रहेको पनि औँल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ