arrow

चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउँदै, यस्तो छ कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
wang-yi-chinese-foreign-minister.jpeg
तस्बिर– फाइल

काठमाडौं । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी आज बेलुकी काठमाडौं आइपुग्ने छन्  । 

वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र  १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपाल–चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ । 

नेपाल भ्रमणको बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी,  प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

वाङ चैत १३ गते साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

भ्रमणको सबै तयारी पूरा

भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ । नेपाल भ्रमणका क्रममा आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले बताए ।

विदेशमन्त्री वाङको बासस्थानदेखि उनी सवार सडक, चोक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाउने तयारी गरिएको छ । बौद्ध, स्वयम्भू र हात्तीसार लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उनको स्वागतको भव्य तयारी गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । विमानस्थलमा विदेशमन्त्री वाङलाई परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोलीले स्वागत गर्नेछ । 

सहकार्य र विगतका साझेदारीका सवालमा थप छलफल र कार्यान्वयन 

नेपाली प्रतिनिधिमण्डल र चीनका विदेशमन्त्री वाङसहितको प्रतिनिधिमण्डलबीच द्विदेशीय सहकार्य र विगतका साझेदारीका सवालमा थप छलफल र कार्यान्वयन प्रगतिका विषयमा छलफल हुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार केही नयाँ सम्झौता र सहमतिको तयारी पनि रहेको छ । तथापि जलविद्युत् परियोजना, ट्रान्स हिमालयन सम्पर्क सञ्जाल, बीआरआई परियोजनासँग सम्बन्धित विषयलाई नयाँ पहलसाथ अघि बढाउने विषयमा छलफल र सहमतिको आधार बनाइने मन्त्रालयले जनाएको छ । 

यीबाहेक कोभिड–१९ महामारीपछिको आर्थिक पुनःस्थापनाका साथै भविष्यमा आइपर्ने महामारीजन्य सङ्कटका लागि चीनले गर्नसक्ने थप सहयोगका विषयमा पनि एक खालको खाका मन्त्रालयले बनाएको छ । त्यसमा नेपालमा थप लगानीको अवसरका विविध क्षेत्रलाई खुट्याएर सरकारका तर्फबाट द्विपक्षीय वार्तामा अघि सारिने भएको छ ।

नेपालसँग रेल्वे परियोजनालगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता यसअघि नै भएको थियो । नौवटा सम्झौता भने नेपालको निजी तथा सार्वजनिक संस्था र कम्पनीसँग चिनियाँ संस्था र कम्पनीको सम्झौता रहेको मन्त्रालयले जनाएको छ । 



नयाँ