arrow

आईपीएल आजदेखि, धोनी पहिलो पटक कप्तानी विना मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
ipl-2022.JPG

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको नयाँ सिजन आजबाट शुरु हुँदैछ । पहिलो दिन एक खेल हुनेछ । मुम्बईको वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे शुरु हुनेछ ।  दुवै टोली जित निकाल्दै नयाँ सिजनमा सुखद सुरुआत गर्न चाहन्छन् ।

चेन्नई र कोलकाताबीचको खेलमा चेन्नई हाबी हुँदै आएको छ । गत संस्करण दुवै भेटमा चेन्नईले जित निकालेको थियो । तर ओपनिङ खेलमा भने कोलकाताले १४ मध्ये १० खेल जितेको छ । 

दुईबीचको भिडन्तमा २८ खेलमा चेन्नईले १८ खेल जित्दा कोलकाताले ९ खेलमात्र जितेको छ । 

धोनीको कप्तानी विना चेन्नई 
पहिलो पटक आईपीएलमा महेन्द्र सिंह धोनी विना कप्तानी मैदानमा उत्रने छन् । उनले दुई दिनअघि मात्रै चेन्नईको कप्तानी छाडेका थिए । 

धोनीको स्थानमा रविन्द्र जडेजाले कप्तानी सम्हाल्ने छन् । १४ वर्षदेखि धोनीले कप्तानी गर्दै आएका थिए , सन् २०१९ को सिजनका दुई खेलमा धोनी तन्दुरुष्ट नहुँदा सुरेश रैनाले कप्तानी सम्हालेका थिए । त्यो बाहेक पहिलो पटक चेन्नई धोनीको कप्तानी विना नै मैदानमा उत्रने छ । 

कोलकाताको कप्तानी भने श्रेयस ऐयरले सम्हाल्ने छन् । उनी यसअघि दिल्ली क्यापिटल्समा थिए । गत सिजन उनले कप्तानी सम्हाल्न नपाएकाले दिल्ली छाडेका हुन् । 

यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ । २९ मेसम्म चल्ने लिगको ७० र ४ प्ले अफ खेलहरु ६५ दिनमा सकिने छ ।

सन् २००८ देखि शुरु भएको आईपीएलमा मुम्बई इन्डियन्सले पाँच पटक, चेन्नई सुपर किङ्सले चार पटक, कोलकाता नाइट राइडर्सले दुई पटक तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स र सनराइजर्स हैदराबादले एक एक पटक उपाधि जितेका छन् । 

 


 



नयाँ